Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री समाजवादीका, मन्त्रालयमा एमालेहरुको कब्जा

    भौतिक पूर्वाधारका सहसचिव पोखरेलको अवकाश, बिष्टलाई लाने तयारी


    मंगलबार, बैशाख १९ २०८०
    4.1K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को भागमा परेका दुई मन्त्रालयमा विभिन्न विकासका काम लिएर जाने पार्टीका नेता–कार्यकर्ताहरु सचिवालयका कर्मचारीहरुका कारण निराश भएर फर्किने गरेका छन् । अहिलेको सरकारमा नेकपा समाजादीले दुई क्याबिनेट र एक राज्य मन्त्री पाए पनि पार्टीका नेता र कार्यकर्ताले मन्त्रालयमा जाँदा आफ्नो मन्त्री भएको अनुभूति गर्न पाएका छैनन् ।

    नेकपा समाजवादीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा प्रकाश ज्वाला र कृषि तथा पशुपंछी विकास मन्त्री बेदूराम भूसाल छन् । भौतिक राज्यमन्त्रीमा नन्दा चपाई छन् । तर पार्टीका नेता कार्यकर्ताहरुका काम होइन, ती मन्त्रालयमा एमालेका सिफारिसमा काम हुने गरेका छन् । दुवै मन्त्रीको सचिवालय एमालेनिकट कर्मचारीहरुले कब्जा गरेकाले समाजवादीका कामहरु हुँदैनन् । कृषि मन्त्री भूसालको सचिवालयमा उपसचिव दीपक पौडेल हावी छन् ।

    कृषि अनुसन्धान परिषद्(नार्क)का उनी उपसचिवस्तरका भए पनि समाजवादीका चर्का बिरोधी र एमालेका हार्डकोर कार्यकर्ताको रुपमा चिनिन्छन् । उनले एमालेका नेताहरुको सिफारिसमा कृषिमा काम गर्दैआएको गुनासो छ । तर मन्त्री भूसालको सोझोपनको लाभ लिएर उनले मन्त्रालयमा रजाई गरिरहेका छन् ।

    मन्त्री भूसालको सचिवालयमा सचिवालयमा पौडेलको हालीमुहाली छ भने कर्मचारी प्रशासन शाखाका उपसचिव बिष्णुहरि उपाध्यायलाई पनि यथावत राखिएको छ । उपाध्याय पनि एमालेका कट्टर मानिन्छन् । जुन जुन मन्त्रालयमा एमाले मन्त्री हुन्छन्, उनी सोही सोही मन्त्रालयमा कर्मचारी प्रशासन वा सचिवालयमा बस्दै आएका छन् । एमाले निकट कर्मचारीका नेता भोलानाथ पोखरेलको सिफारिसमा कृषि तथा पशुपंछी विकास मन्त्रालयको सचिवालयमामात्र होइन, कृषि अनुसन्धान परिषददेखि विभाग, संस्थान र बोर्डहरुमा कर्मचारीहरु खटाइएको गुनासो पार्टीमा पुगेको छ ।

    नेकपा समाजवादी निकट र समर्थक कर्मचारीहरु पर्याप्त भए पनि भौतिक र कृषि मन्त्रालयमा उनीहरुलाई नराखिएकाले एमालेकै हालीमुहाली छ । रिक्त हुने महाशाखा प्रमुखदेखि विभिन्न ठाउँमा पनि एमालेनिकटहरुलाई नै सिफारिस गरिएको छ ।

    भौतिकमा पनि उस्तै, कर्मचारी प्रशासनमा बिष्टलाई ल्याउने तयारी

    त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुख रहेका सहसचिव इन्द्रमणि पोखरेलले सोमबारबाट अवकाश पाएका छन् । उनले अवकाश पाएपछि सो महाशाखामा रघुराम बिष्टलाई लानका लागिएको छ । विगतमा हृदयेश त्रिपाठीदेखि राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा कर्मचारी प्रशासन महाशाखामा बसेर कर्मचारी सरुवामा दररेट उठाउने सहसचिवका रुपमा बिष्टको नाम आउँछ । कर्मचारी प्रशासन शाखाका उपसचिव रविन्द्रजंग थापा र रुपनारायण खतिवडासँग मिलेर उनले बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयदेखि बिभिन्न मालदार अड्डामा सरुवा गर्ने र बदर गर्ने गरी खुलेआम आर्थिक लेनदेन गरेका थिए । बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा ६ बर्षदेखि बसेका र करोडौं भ्रष्टाचार गरेकाहरुलाई श्रम मन्त्रालयले सरुवा गरेकोमा रविन्द्रजंग थापामार्फत् दररेट बु्झेर बदर गर्दा बिष्ट नै कर्मचारी प्रशासन महाशाखा प्रमुख थिए ।

    कृषि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख भइसकेका र २०७९ माघदेखि अर्थमन्त्रालयको जगेडामा रहेका बिष्टलाई भौतिक पूर्वाधार मन्त्रालयको कर्मचारी प्रशासन शाखाको प्रमुखमा ल्याउनका लागि समाजवादीका सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे नै लागेका छन् । भौतिक पूर्वाधार मन्त्री ज्वाला अर्थमन्त्रालयमा कार्यरत दैलेखका झक्कप्रसाद आचार्यलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा ल्याउने पक्षमा भए पनि सांसद पाण्डेले बिष्टलाई नै ल्याउन चर्को दबाब दिइरहेका छन् । पाण्डेमात्र नभएर पूर्वस्वास्थ्य मन्त्री बिरोध खतिवडासमेत बिष्टलाई भौतिकको कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा ल्याउन भनसुनमा ब्यस्त छन् ।

    बिष्ट सामान्यको कर्मचारी प्रशासन प्रमुख हुँदा २०७९ साउनको पहिलो साता मन्त्रालयले करिब दुई सय कर्मचारीको सरुवा गरेको थियो । त्यसरी भएको सरुवाको आधा पनि कार्यान्वायन भएन । सहसचिव बिष्ट, उपसचिवद्वय रुपनारायण खतिवडा र रवीन्द्रजंग थापाको मिलेमतोमा यस्तो सरुवामा खुलेआम असुली धन्दा चलेको बिषय संचारमाध्यममा सार्बजनिक भएको थियो ।

    अवसरवादका नमूनाका रुपमा चिनिने पूर्वसचिव महेश्वर न्यौपानेलाई गृहमन्त्रालयको सचिव बनाउन एमालेका नेता महेश बस्नेत लागे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकोमा लगे । पछि २०७८ भदौमा गृहबाट हटेपछि तिनै महेश्वर राजेन्द्र पाण्डेलाई प्रभावमा पारी पर्यटन मन्त्रालयमा पुगेका थिए । कर्मचारीतन्त्रका यस्तै अवसरवादीहरुको घेरामा नेताहरु पर्दा मन्त्रालयमा मन्त्रीसमेत बदनाम हुने गरेका छन् । सहसचिव रघुराम बिष्ट पनि यस्तै नेताका ढोका ढोका चाहर्नेमध्येमा पर्दछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार