Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उद्योग विभागको डीजी हुने दौडमा शक्तिकेन्द्र धाउँदै पौडेल, अरु सहसचिवको चाहना अधुरै


    शनिबार, फाल्गुन २७ २०७९
    5.1K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । गएको पुस १० गते सरकार फेरिएसँगै सुरु भएको उद्योग विभागको महानिर्देशक परिवर्तनको खेल अझैसम्म रोकिएको छैन । निवर्तमान उद्योग मन्त्री दामोदर भण्डारीले महानिर्देशक परिवर्तन गर्न खोजेका थिए । उनले महानिर्देशक परिवर्तन गर्न खोज्दाखोज्दै मन्त्रीबाटै बाहिरिनुपरेको थियो ।

    भण्डारीले महानिर्देशक बनाउन चाहेका सहसचिव मदन भूजेल, डा. नारायण रेग्मी, लीलाराज शर्मा र चन्द्रकला पौडेलहरु चर्को लबिङमा थिए । बालकोट र मन्त्रीको ट्युनिङ नमिल्दा महानिर्देशकका लागि फरक फरक पात्रहरुको नाम आइ नै रह्यो । कहिले चन्द्रकलाको कुरा आउने र कहिले लीलाराजले बाजी मार्न लागेको चर्चा चलाइए । यही मेसोमा बाजुराकै भएकाले डा. रेग्मीलाई मन्त्रीले महानिर्देश बनाउन लागेको हल्ला पनि खुब चल्यो । तर मन्त्री भण्डारीले भने महानिर्देशकका उम्मेदवारहरुसँग बेग्लाबेग्लै भेट गर्दागर्दै उनी मन्त्रीबाट बाहिरिनुपरेको थियो । भण्डारीले जाने बेलामा चन्द्रकलालाई महानिर्देशक बनाउने चर्चा पनि चल्यो । उनले विभागमा बहाली भएपछि मन्त्रीको चाहनामा काम गर्ने प्रतिद्धता ब्यक्त गरेका कारण मन्त्री भने निर्णय अगावै प्रतिबद्धता अनुसारको सहयोगको अपेक्षा चाहन्थे । जसका कारण पौडेलका बारेमा निर्णय हुनसकेको थिएन ।

    बालकोटले महानिर्देशकका लागि पौडेल र शर्मा दुवैलाई अघि सारेका कारण मन्त्रीलाई पनि निर्णय लिन असहज अवस्था सृजना हुन पुगेको थियो । निवर्तमान अर्थमन्त्री बिष्णु पौडेलले बालकोटमार्फत् चन्द्रकलाको नाम महानिर्देशकमा अगाडि सारेका थिए भने पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले भने शर्मालाई महानिर्देशक बनाउन मन्त्रीलाई दबाब दिएका थिए ।

    भण्डारीले पार्टी नेता लेखराज भट्टलाई महानिर्देशक बनाउने पात्रका बारेमा छलफल गरेका थिए । महानिर्देशकका लागि चौतर्फी चर्चा परिचर्चा, तयारी भए पनि ४२ दिनसम्म सरुवा नगरी भण्डारी मन्त्रीबाट बिदा भए । अहिले उद्योग मन्त्रालय प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् । यो अवस्थामा फरक पात्रहरुको प्रवेश भएको छ । धमिलो पानीमा माछा मार्न पाइन्छ कि भन्ने अस्थिरताका बीचमा सहसचिव शोभाकान्त पौडेल नयाँ पात्रका रुपमा आएका छन् ।

    खानेपानी मन्त्रालयमा हैकम जमाएर सिंगो मन्त्रालयको छायाँ मन्त्री र सचिवको रुपमा काम गर्दैआएका पौडेल उद्योगको महानिर्देशक हुन मरिमेटेर लागेका छन् । आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा जिम्मेवारी पाएको ६ महिनामै अक्षम भनेर सामान्य प्रशासनको अतिरिक्तमा फालिएका उनै पौडेल अहिले उद्योग बिभागको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै हिंडेका छन् । माओवादी नेताहरुमार्फत् प्रधानमन्त्रीको सचिवालयसम्म आफ्नो माग पुर्याइसकेका उनले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई समेत सहमत गराइसकेको स्रोत बताउँछ । जागिरका अधिकांश समय आकर्षक कार्यालयमा बिताएका पौडेललाई अहिले आर्थिक रुपमा भ्रष्टाचारको मुद्दा खेपिरहेका चुडामणि शर्माकै हाराहारीका अरबपति सहसचिवका रुपमा चिनिन्छन् ।

    एनसेल खरिद बिक्री गर्दा नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छलीका मुख्य योजनाकार चुडामणि शर्माका विश्वासिला सहयोगी हुन् सहसचिव पौडेल । शर्मा आन्तरिक राजस्व विभागका महानिर्देशक र पौडेल ठूला करदाता कार्यालयका प्रमुख भएको बेला एनसेलका संचालक लाभकर नतिरी नेपालबाट भागेका थिए । एनसेलको लाभकर नतिरी टेलियासोनेराका संचालकलाई नेपालबाट भगाउने शर्मा र पौडेल नै थिए ।

    अहिलेसम्म सरकारी भत्ता खाएको रकमको समेत हिसाब गरेर टिपोट राख्दैआएका पौडेल सुशासनका कुरा गफ दिएर दिन बिताउने गर्दछन् । विवादास्पद पूर्वखानेपानी मन्त्री उमाकान्त चौधरीका निजी सचिव भएका शशीकुमार लम्साल उनका मुख्य सल्लाहकार हुन् । पौडेलकै आशीर्वाद पाएर अहिलेसम्म काजफिर्ता नभएका र मन्त्रालयको स्कोरपियो गाडीको दुरुपयोग गरिरहेका लम्साल निर्वाचन आचारसंहिताको अन्त्यसँगै खानेपानी मन्त्रालयमा दरबन्दी कायम गर्ने लबिङमा छन् । उनलाई चिन्नेहरु भन्ने गर्दछन्– तल्लो तहबाट सहसचिव ह्ुँदै सचिव बढुवाको नजिक पुगेका पौडेल जति माथिल्लो तह उक्ले उति सम्पत्ति थुपार्न तल्लीन छन् ।

    राजस्व अनुसन्धान विभागको थानकोट चेकपोष्टमा शाखा अधिकृत हुँदा पनि पौडेलले मालवाहक गाडीहरुसँग घुस असुली गरी त्यतिबेलै करोडौं पर्ने बंगला बनाएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार