Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • निषेधाज्ञाको पालना: कोरोनाविरुद्ध एकता


    शुक्रबार, भाद्र ५ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौँ  । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथाम गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको पहिलो दिन बिहीबार जनजीवन ठप्प पारेर कोरोनाविरुद्ध एकता देखाइएको छ । सङ्क्रमण तीव्र बढ्ने सम्भावना देखिएपछि जारी निषेधाज्ञाको केही अपवाद छोडेर नागरिकले पनि पूर्णतः पालना गरेका छन् भने सरकारले पनि प्रभावकारी कार्यान्वयन गराएको छ ।
    काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य सडक, चोक, गल्ली र बस्तीमा चहलपहल शूून्य बनेको छ । गएराति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो । कतिपय स्थानमा दैनिक उपयोगका सामग्री किनमेलका लागि समेत समस्या परेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरिएको छ । सुरक्षाकर्मी सबेरै ४ बजे सडकमा परिचालन गरी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थलगत कारबाही गरिएको छ ।

    उल्लङ्घन गर्नेलाई कारबाही
    तीनवटै जिल्लाबाट गरी निषेधाज्ञा उल्लङ्घन गर्ने करिब तीन हजार सवारी साधनसहित चालकलाई कारबाही गरिएको छ । त्यस्तै एक हजार २२० जनालाई सडकमै बनाइएका होल्डिङ सेन्टरमा एक घण्टा राखेर कारबाही गरिएको छ ।
    महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले विभिन्न स्थानमा होल्डिङ सेन्टर बनाएर कारबाही गरिएको बताउनुभयो । निषेधाज्ञा उल्लङ्घन गरी आफन्त भेट्न तथा बैङ्क र वित्तीय संस्थामा जाँदै गरेकाहरू कारबाहीमा परेका छन् । आफूखुसी सञ्चालनमा आएका सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।
    कोरोना सङ्क्रमण भयावह बन्दै गएको बेलामा पनि कतिपय नागरिकले अटेर गर्ने, मास्क प्रयोग नगर्ने र सामाजिक दूरी कायम नराखी लखरलखर सडकमा हिँड्दा सुरक्षाकर्मी जोखिममा रहेको उहाँले बताउनुभयो ।

    सामग्री किन्न टाढा नजानू
    “यो निषेधाज्ञा नागरिकको सुरक्षाका लागि हो”, महानगरीय प्रहरी प्रमुख पोखरेलले भन्नुभयो, “आफू बाँचे पो आफन्त भेट्न सकिन्छ । जबरजस्ती सडकमा नआइदिनुहोस् ।” कतिपय स्थानमा खाद्यान्न किन्न भन्दै मोटरसाइकल र कार चढेर बाहिर निस्केको पाइएको छ । खाद्यन्न सामग्री, दूूध र औषधि खरिद गर्दा आफू बस्ने बस्ती नजिकैको औषधि पसल, किराना पसल र डेरीमा जान आग्रह गरिएको छ । कुनै अप्ठ्यारो परेमा वा स्वास्थ्य तथा सुरक्षासम्बन्धी समस्या परेमा सडकमा तैनाथ सुरक्षाकर्मी तथा प्रहरी कन्ट्रोल १०० मा फोन गरी सहयोग लिन आग्रह गरिएको छ । सो कार्यमा प्रहरीले सहजीकरणसमेत गरिदिने जनाइएको छ ।

    अत्यावश्यक पसल नियमित
    काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा दैनिक उपभोग्य सामान खरिद बिक्रीका लागि किराना, तरकारी, दुग्धजन्य डेरी र पानी पसल नियमित सञ्चालनमा रोक लगाइएको छैन । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाअन्तर्गत औषधि, खाद्य पसल, तरकारी, दूूूूध डेरी र पानी पसल सञ्चालनमा रोक नलगाइएको स्पष्ट पारेको छ । तर पसल सञ्चालक र ग्राहकले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेको भने हुनुपर्नेछ ।
    पसल सञ्चालक तथा ग्राहकले मास्कको प्रयोग अनिवार्य र एक मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने हुन्छ । त्यस्तै सामग्री खरिद गर्न घरबाहिर निस्कँदा वा पसलबाहिर दुईजना भन्दा बढीको भीड गर्न निषेध गरिएको छ । आजको गोरखापत्रबाट 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार