Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच हजार क्षमताको एकीकृत आइसोलेसन निर्माणको तयारीमा जुटेका छौँः मेयर शाक्य


    बुधबार, भाद्र ३ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताउनु भएको छ ।

    उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका शाक्यले संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारी थालेको जानकारी दिनुभएको हो ।

    आज एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो जानकारी दिनुभएको छ । शाक्यले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको पनि स्वागत गर्नुभएको छ ।

    ‘स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको स्वागत गर्दै यो अवधीमा कोरोना रोकथाम र नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न अपिल गर्दछु,’ शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टायन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरिएको छ । ‘हाल महामारीका रुपमा फैलिदै गएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण विश्व नै अहिले आक्रान्त बनेको छ ।

    आजका दिनसम्म नेपालमा मात्रै अहिलेसम्म २८ हजार ९ सय ३८ बढी संक्रमित भइसकेका छन् । कोरोनाकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय काठमाडौँमा सबैभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म प्राप्त पछिल्ले तथ्याङ्क अनुसार काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सय ५८ र काठमाडौँ महानगरमा मात्रै करीब १ हजार ६८ बढी संक्रमित फेला परेका छन् । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टायन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक छ ।’

    उहाँले जारी गरेको विज्ञप्तिमै भनिएको छ– काठमाडौँ महानगरपालिका संघीय राजधानी समेत भएकाले यहाँ ७७ वटै जिल्लाका नागरिक विभिन्न पेशा–व्यवसायमा संलग्न भएर बस्ने गरेका छन् । हामीले यो सम्वेदनशीलतालाई राम्ररी बुझेका छौँ । यस्तो अवस्थामा कोरोना संक्रमण नियन्त्रण बाहिर गयो भने यसको असर मुलुकभरी नै पर्ने निश्चित छ । ’ शाक्यले सरकारले सुरुमा गरेको लकडाउनलाई पूर्ण पालना गर्दै काठमाडौँ महानगर र सम्पूर्ण उपत्यकावासीले उपत्यकालाई शान्त राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उपत्यकाबासीको सहनशीलतालाई स्वागत गर्नुभएको छ । ‘लकडाउन हटे पनि कोरोना हटेको होइन । पीसीआर परीक्षण कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम परिक्षण मात्र हो । यो औषधी होइन र यसले कोरोना रोकथाम गर्दैन,’ उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘जनशक्ति, तालिम र स्वास्थ्य सुरक्षा सामग्रीको पर्याप्त रूपमा व्यवस्था गरी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको उचित परिचालन गरी सेवा विस्तारमा ध्यान दिनु अहिलेको आवश्यकता हो । त्यसलाई प्राथमिकतामा राखी कार्य अघि बढाउन केन्द्रसरकारसँग अपिल गर्दछु ।’

    उहाँले काठमाडौँ महानगरपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्यायसम्म १० ओटा कन्ट्राक्ट ट्रेसिङ टोली बनाएर ३२ वटै वडामा १७ सय ९५ जनालाई पीसीआर टेस्टिङ गरिसकेको पनि जानकारी गराउनु भएको छ ।

    ‘कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डिस इन्फेक्सन स्प्रे गर्ने र दैनिक ५ वटा टोलीले सो सम्वन्धी चनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ उहाँले भन्नुभएको छ, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली परिचालन समेत गरेको छ ।’ उहाँले महानगरपालिकासँग प्राविधिक टोलीको अभाव रहेको भन्दै यस्तो अवस्थामा दैनिक २०–३० हजार मानिस दैनिक उपत्यका प्रवेश गर्ने र लुकेर बस्ने हो भने ट्रेसिङ गर्न समस्या हुने भन्दै यस्तो सम्वेदनशील विषयमा उपत्यका प्रवेश गर्ने नागरिक स्वयंलाई सूचना दिन आग्रह गर्नुभएको छ ।

    ‘कोरोना रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले अहिलेसम्म गरेका प्रयासको समीक्षा गर्दै आगामी दिनमा गर्नु पर्ने पहल र प्रयासका लागि आम महानगरवासी र सञ्चारमाध्ययमसँग आग्रह गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘साथै, भीडभाडबाट नै कोरोना संक्रमण फैलिने प्रमुख कारण भएको तथ्यलाई ध्यान दिदैँ आम महानगरवासीलाई सकेसम्म अत्यावश्यक बाहेक घरबाट बाहिर ननिसक्न, निस्कनु परे पनि भीडभाडमा नजान, जात्रा–पर्व भीडभाड नगरी विधि मात्रै पूरा गरेर मनाउन, उचित रुपमा मास्क प्रयोग गर्न, समय–समयमा सावुन–पानीले हात धुन र सेनेटाइजर प्रयोग गर्न अपिल गर्दछु ।’

    विज्ञप्तिमा काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामीलाई अस्पतालसम्म ल्याउन–लैजान सहज होस भन्ने हेतुले काठमाडौँ महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवालाई (१०२) सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ । ‘त्यस्तो समस्यामा परेका उपत्यकावासीलाई १०२ मा सम्पर्क गरी सेवा लिन पनि आग्रह गर्दछ,’ विज्ञप्तिमै भनिएको छ ।

    117823988_725093191382748_6886041791082167491_n.jpg

    117672289_235994064257012_614195602391205464_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार