काठमाडौं । कोरोना संक्रमणका अलपत्र परेका २ सय ६६ नेपाली श्रमिक सोमबार राति नै उत्साहका साथ दुबई एयरपोर्ट आएका थिए । वैदेशिक रोजगारीको शिलशिलामा युनाइटेड अरब इमिरेट्स अरब (यूएई) आएका उनीहरु लामो समयदेखि स्वदेश फर्कन पाएका थिएनन् ।
कोरोनाको कारण लामो कागजी प्रक्रिया, कोरोना परीक्षण लगातका सबै प्रक्रिया पूरा गरी उनीहरु एयरपोर्ट आएको भएपनि अन्तिम समयमा उनीहरु एयरपोर्टमै अलपत्र परे । ती २ सय ६६ जनालाई लिन गएको नेपाल एयरलाइन्सको जहाज मंगलबार बिहान रित्तै फर्किएसँगै उनीहरु निराश बने । यो घटनामा ती श्रमिकमाथि अमानवीय व्यवहार भएको भन्दै चौतर्फी आक्रोश बढेको छ ।
यसरी सबै प्रक्रिया पूरा गरेर पनि ती नेपालीहरु स्वदेश फर्कन नपाउनुको कारण भने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) रहेको खुलेको छ। सरकारले कोभिड–१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि गठन गरेको सो समितिले यसअघि आफैंले गरेको निर्णयलाई असर पार्ने अर्को निर्णय सोमबार गरेको थियो ।
पछिल्लो समय नेपालमा संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगित गर्ने निर्णय सीसीएमसीले सोमबार गरेको थियो । सोही निर्णय अनुसार सीसीएमसले मंगलबार बिहान फर्किने नेपाल एयरलाइन्सको जहाजलाई यात्रु ल्याउन रोकेको थियो ।
पर्यटन मन्त्री अनविज्ञ
उद्धार उडान कुरेर बसेका नेपालीलाई छोडेर जहाज रित्तै आएको घटनामा पर्यटन मन्त्री योगेश भट्टराई अनविज्ञ नै थिए । पछिल्लो समय मन्त्रालयको कुनै काम नै नभएको र भएको यही एउटा उद्धार उडानको काम पनि उनीसँग परामर्श नगरी गरिएको भन्दै योगश यतिबेला असन्तुष्ट बनेका छन् ।
स्वेदश फर्किन चाहेका नेपालीहरुले एयरपोर्टमै पर्यटन मन्त्री योगेश भट्टराई विरुद्ध चर्को नारा लगाएका थिए ।
यात्रुहरु विमानस्थलमा आइसकेको अवस्थामा सो निर्णयको कारण आफूविरुद्ध नाराबाजी गर्ने अवस्था आएको भन्दै मन्त्री भट्टराईले तीव्र असन्तुष्टि जनाएका छन् ।
अमानवीय कदम
मंगलबार बिहानको टिकट काटेका २ सय ६६ जनाले नेपाल फर्कनका लागि ३ महिना अघि देखि प्रक्रिया थालेका थिए । दूतावासमा नाम टिपाएर आफ्नो पालो कुरेका उनीहरु सबैले स्वास्थ्य प्रोटोकल बमोजिम आरडीटी परीक्षण समेत गरेका थिए ।
सीसीएमसीले अन्तिम समयमा निर्णय गर्दा दुबई पुगेको जहाज रित्तै फर्कियो भने घर आउने आशमा रहेका नेपालीहरु निराश बने ।
सीसीएमसी निर्देशक समिति संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र हुन् । पछिल्लो समय उनले गरेका निर्णयहरु सबै जसो विवादमा आउने गरेका छन् । तर प्रम ओलीको साथ पाएका उनलाई अहिलेसम्म अपजसको सामना नै गर्नुपरेको छैन ।
संकटमा एयरलाइन्स
कोरोना संक्रमणका कारण आर्थिक संकटबाट गुज्रिरहेका एयरलाइन्सहरु पनि सीसीएमसीको यो निर्णयको मारमा परेका छन् । यात्रु लिन दुबई पुगेको जहाज रित्तो फर्कंदा यसको आर्थिक दायित्व सबै एयरलाइन्समा पर्छ । नेपाल एयरलाइन्सलाई एउटा उडानले लाखौं घाटा लागेको छ । एयरलाइन्सले सो टिकटको सबै पैसा फिर्ता दिनु पर्नेछ ।
यो मात्र नभइ मलेसियाबाट आउने उडान समेत यो निर्णयसँगै रद्द भएको छ । मलेसिया दूतावासले १९, २० र २१ अगस्टका लागि तय गरेको उडानका लागि श्रमिकहरूले टिकट काटिसकेका थिए । अब ती एयरलाइन्सले समेत सबै पैसा फिर्ता गर्नुपर्ने भएको छ ।
यात्रु र एयरलाइन्सलाई मर्का पर्नेगरी निर्णय गर्ने सीसीएमसीका संयोजक पोखरेल अहिलेसम्म यो विषयमा मौन बसेका छन् ।