काठमाडौं । अर्थमन्त्रालयले मन्त्रिमण्डल पुनर्गठनअघि नै उपसचिव र अधिकृतहरुको सरुवा गर्ने तयारी गरेको छ । डा. युवराज खतिवडा सांसद नभएकाले उनी मन्त्रिमण्डल पुनर्गठन नभए पनि मन्त्रीबाट हट्ने भएपछि उनको बहिर्गमनअघि नै अर्थमन्त्रालयले सरुवा गर्ने तयारी गरेको छ । सरुवामा पटक पटक आकर्षक भन्सार र कर कार्यालयमा बसेकाहरुलाई पुनः भैरहवा, बीरगंज भन्सारमा पठाउने तयारी अर्थसचिव शिशिरकुमार ढुंगानाले गरेपछि नेपाल निजामती कर्मचारी संगठनले मापदण्डअनुसार गर्नुपर्ने अडान राखेको छ ।
मन्त्री खतिवडा चुनाव जितेर नआएको र पार्टीको पदमा पनि नभएकाले सरुवामा उनको त्यति धेरै रुची नभएकाले पनि उनी हुँदै सरुवा गर्ने तयारीमा सचिव ढुंगाना लागेका छन् । खतिवडा पुनर्गठनमा परी हटे भने उनीपछि राजनीति गरेका सांसद मन्त्री भए सरुवामा मनोपोली गर्न नपाउने भएपछि पुनर्गठनअघि नै सरुवा गर्ने तयारी भइरहेको छ । नेकपामा सहमति हुनासाथ मन्त्रिमण्डल पुनर्गठन गरी २ बर्ष पुगेका केही मन्त्रीबाहेक अरु नदोहोरिने पक्का जस्तै छ । त्यही संभावनाका कारण पनि अर्थमन्त्रालय हतार हतार उपसचिवहरुको सरुवा गर्न खोजिरहेको छ । तर यसरी सरुवा गर्दा ट्रेड सरकार निकट ट्रेड युनियनलाई पूरै माइनस गर्न खोजिएपछि सचिव ढुंगाना अप्ठेरोमा परेका छन् । ट्रेड युनियनमात्र होइन, राजस्व सचिव रामशरण पुडासैनीलाई समेत उपेक्षा गरी निर्णय गरी आफू निकटलाई मात्र राम्रो ठाउँ खोजेका छन् ।
सचिव ढुंगानाले उपसचिव मणिराम पौडेललाई बीरगंज भन्सारको प्रमुख र गोपाल कोइरालालाई भैरहवा भन्सार प्रमुखमा सरुवा गर्ने गरी सूची तयार पारिसकेका छन् । उपसचिव दुर्गाप्रसाद भण्डारीलाई आन्तरिक राजस्व कार्यालय पुतलीसडकको प्रमुख, सुबोध खतिवडालाई त्रिपुरेश्वर, मुक्ति आचार्य न्यूरोड र मदन दाहाललाई बानेश्वरको प्रमुखमा सरुवा गर्ने तयारी गरेका छन् । अर्का उपसचिव शिशिर घिमिरेलाई आन्तरिक राजस्व कार्यालय भैरहवामा सरुवा गर्ने गरी टिप्पणी उठाउन लगाइसकेको सूचना पनि संगठनका नेताहरुका कानसम्म पुगेको छ ।
त्यस्तै उपसचिव भूपाल शाक्य र मोहनलाल जीसीलाई ठूला करदाता कार्यालयमा सरुवा गर्ने तयारीमा अर्थमन्त्रालय रहेको छ । यसरी सरुवाको सूची बनिसकेको थाहा पाएपछि संगठनको अर्थमन्त्रालयका नेताहरुले मापदण्ड अनुसार हुनुपर्ने कुरा सचिवसमक्ष राखेको स्रोतले बताएको छ । सचिव ढुंगानाले सरुवाकै बिषयमा छलफल गर्न सोमबार ट्रेड युनियनहरुलाई बोलाएका थिए । निजामती कर्मचारी संगठनले बीरगंज, बिराटनगर, रसुवा कर र भन्सार कार्यालयको प्रमुख भएकाहरुलाई पुनः आकर्षक भन्सार कार्यालयमा सरुवा गर्नु नहुने तर्क गरेका छन् ।
उपसचिव मणिराम पौडेल ६ महिनाअघिसम्म बिरानगर भन्सारमा अधिकृत थिए । बढुवा भएको ६ महिनामै पुनः बीरगंंज भन्सारको प्रमुखमा पठाउन लागिएको छ ।
कोरोना महामारीपछि भन्सार कार्यालयबाट खुलेआम तस्करी हुँदैआएकाले पनि बीरगंज, बिराटनगर र भैरहवा भन्सारमा जान चर्को प्रतिस्पर्धा र बोलकबोल हुँदैआएको छ । गोपाल कोइराला रसुवा भन्सार कार्यालयबाट १ बर्षअघि मात्र सरुवा भएका हुन् । अहिले उनलाई भैरहवा पठाउन लागिएको छ ।
भूपाल शाक्य भैरहवा भन्सार कार्यालयमा १ बर्षअघि सरुवा भएका हुन् । उनी भैरहवामा हुँदा समशेर मियाँ नामक तस्करका गाडी भन्सार यार्डमा प्रवेश नै नगराई खुलेआम छाड्ने गरेर विवादमा परेका थिए । शाक्यसँगै भैरहवा भन्सारमा कार्यरत भन्सार अधिकृत मानप्रसाद विक बिरुद्ध अख्तियारले २ करोड रुपैयाँ आयभन्दा बढी सम्पत्ति देखिएपछि विशेष अदालतमा मुद्दा दायर गरेको छ । तर शाक्यले भने भन्सारछली गर्न दिएबापतको घुस घरजग्गा वा छानबिनमा देखिने गरी लगानी नगरी मिटरब्याजमा लगानी गरेकाले उनको नाममा त्यस्तो सम्पत्ति फेला नपरेका कारण उनी जोगिएका थिए ।
मदन दाहाल भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेका उपसचिव हुन् । उनका काठमाडौंमै ३–४ वटा घर नै रहेका छन् । अर्थमन्त्रालयले महत्वपूर्ण ठाउँमा सरुवा गर्न लागेका उपसचिवहरुमध्ये कतिपयका बिरुद्ध अख्तियारमा अकूत सम्पत्ति आर्जनमा छानबिन समेत भइरहेको स्रोतको दाबी छ ।
भन्सार र कर कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गरी मन्त्रालय वा विभागमा आएकाहरु अख्तियारको निगरानीमा पर्ने भएपछि कार्यालयमा जानेपक्षमा छैनन् । तर मन्त्रालयले भने ३ बर्षसम्म मन्त्रालय वा विभागमा कार्यरतलाई अनिवार्य रुपमा कार्यालयमा जानैपर्ने मापदण्ड बनाएपछि उपसचिव चण्डी घिमिरेहरुलाई निकै सकस परेको छ । अख्तियारले राजस्व समूहका करिब २० जनाको अकूत सम्पत्ति छानबिन गरिरहेको छ ।
अख्तियारले प्रारम्भिक रुपमा छानबिन अगाडि बढाएका राजस्व समूहका उपसचिवहरुमा मदन दाहाल, मिमांस अधिकारी, सेवन्तक पोखरेल, धर्मेन्द्र मिश्र, भूपाल शाक्य, पदमकुमार श्रेष्ठ, शान्तिराम निरौला, गोपाल कोइराला, जयबहादुर भण्डारी, ज्ञानेन्द्रप्रसाद ढकाल, शिवप्रसाद भण्डारी, प्रकाश पौडेल छन् ।
रमेश गौतम, दुर्गादत्त भण्डारी, चण्डी घिमिरे, शिशिर घिमिरे, कमल राजलवट, केशव भण्डारी, सूर्य सेढाई, टेकबहादुर अर्याल, देवीप्रसाद भण्डारी, भीम अधिकारी, टंक पौडेल, नारद गौतम लगायतको सम्पत्ति विवरण छानबिन गरिरहेको छ ।
शाखा अधिकृतहरु बिजय खनाल, धु्रव रेग्मी, सूर्य कुँवर, श्याम बस्नेत, रमेश खड्का, लक्ष्मण बाँस्तोला, फणिन्द्र अर्याल, रुपक पोखरेल, अर्जुन पाठक, गुणराज सुवेदी, धर्मराज सुवेदी लगायत माथि पनि छानबिन गरिरहेको छ । यीमध्ये कतिपय अवकाश भइसकेका छन् ।
२ अधिकृत र २ उपसचिवबिरुद्ध मुद्दा दायर
डेढ बर्षको बीचमा दुई शाखा अधिकृत र दुई उपसचिव गरी चार जना बिरुद्ध अख्तियारले अकूत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको छ भने अरु थुप्रै अधिकृतदेखि सहसचिवसम्मको छानबिन गरिरहेको छ । अख्तियारले भन्सार अधिकृत रामजी रिजाल र मानवप्रसाद बिकबिरुद्ध मुद्दा दायर गरेको थियो । उपसचिवद्धय टीकाराम भूसाल र कृष्णबहादुर बस्नेतबिरुद्ध पनि मुद्दा दायर गरिसकेको छ ।