काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर गजेन्द्रप्रसाद जयसवालविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नदी तटबन्धको जाली लगाउने काम सकिएपछि भुक्तानी गरिदिएवापत घुस मागेको आरोपमा अख्तियारले जयसवालविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन बाराका सब-इन्जिनियर जयसवालसँग ८० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ।
जयसवाल त्यति नै रकम घुससहित केही समयअघि रंगेहात पक्राउ परेका थिए। अनुसन्धानमा जयसवालले घुस लिएको प्रमाणित हुन आएको अख्तियारले दाबी गरेको छ।