बारा । कुलो थुनेर माछा मारेको विषयमा दुई गाउँका स्थानीयबीच विवाद हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।
सिम्रौनगढ नगरपालिका- ११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका- ६ पटेर्वावासीबीचको विवाद उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन पहिले ६ सेल अश्रु ग्यास पनि प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
झडपको क्रममा दुवै पक्षका नौ जना सर्वसाधारण र चार जना प्रहरी घाइते भएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।
ढुंगामुढा र लाठी प्रहारबाट घाइते भएका सबैको अवस्था समान्य रहेको उनले बताए । उनका अनुसार घाइतेहरूको स्थानीय स्वास्थ्यचौकी तथा क्लिनिकमा उपचार भइरहेको छ ।
पटेर्वातिरबाट बगेर आएको कुलो भगवानपुरका स्थानीहरूले थुनेर माछा मार्न थालेपछि दुवै पक्षबीच विवाद सुरु भएको थियो ।
विवादले उग्र रूप लिएपछि भगवानपुर बजारमा दुईतर्फी लाठी, भाटा र ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले अवस्था साम्य पार्न हवाई फायर गरेको उनको भनाइ छ ।
अहिले त्यहाँको अवस्था समान्य रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।