Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुनर्कजाका लागि आवेदन माग्यो राष्ट्र बैंकले, यी हुन् आवेदन दिन पाउने संस्था


    सोमबार, भाद्र १ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले लघु घरेलु तथा साना उद्यम पुनर्कजा, साधारण पुनर्कजा तथा विशेष पुनर्कजाका लागि आवेदन आह्वान गरेको छ। कोरोनाबाट प्रभावित ऋणीहरुले असोज १४ गतेसम्म पुनर्कजाका लागि आवेदन दिन सक्ने छन्। 

    राष्ट्र बैकले अति प्रभावित क्षेत्रको रुपमा पर्यटन, हवाइ, अस्पताललगायतलाई सूचीकृत गरेको छ।  ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदिले अतिप्रभावितको रुपमा आवदेन दिन सक्ने छन्। 

    होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष, साहसिक पर्यटन, स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्‍याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायतका छन्। 

    गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, वितरण, सिनेमा हल पनि अति प्रभावित क्षेत्रका रुपमा पर्छन्। 

    रोजगारी गुमेका वा वेतलबीमा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा) मूलभुत रुपमा सडेर, गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछामासु, दाना, दुध तथा दुग्धजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण पनि अति प्रभावितअन्तर्गत पर्छन्। 

    कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय, तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक पनि अति प्रभावितअन्तर्गत पर्दछन्।

    राष्ट्र बैंकले मध्यम प्रभावित क्षेत्रको रुपमा खप्ने सामान जस्तै प्लास्टिक, फलामर स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसायी सूचीकृत गरेको छ। 

    निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि(स्कुल, चाइल्ड केयरसम्बन्धी ऋण मध्यम खालका प्रभावित हुन्।  यात्रुवाहक स्थल यातायात, ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप, कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय,  अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर, हेल्थ सेन्टर वा फिट्नेस सेन्टर, भण्डारण गर्न सकिने वस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण, वन तथा खनिजजन्य उद्योग, निर्माण व्यवसाय, औषधि उत्पादन छपाइ, प्रकाशन तथा संचार गृह, निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा पत्थर, माटो तथा सिसाका उत्पादनसम्बन्धी व्यवसाय मध्यम प्रभावित अन्तर्गत छन्।

    ऋणीले आवेदन दर्ता गर्नका लागि नेपाल राष्ट्र बैंक पुनर्कजा कार्यविधि, २०७७ अनुसूची १ बमोजिमको ढाँचा अनुसार आवेदन दिनु पर्छ।  इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय आवश्यक पर्छ। त्यस्तै  शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मितिसहितको सूची हुनु पर्छ। 

    संस्थाले माग गर्ने कूल पुनर्कजा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्छ। आवेदनका लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्नेछ।

    एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत् कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक वित्तीय संस्थामार्फत् मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्नेछ। पुनर्कजाका लागि आवेदन गरिएको कुल रकममध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कजाअन्तर्गत हुने गरी माग गर्नु पर्नेछ।

    आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक ऋणी समेटिएको हुनुपर्नेछ। आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोकेबमोजिम पुगेको हुनु पर्नेछ।

    आवेदन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनलाई आवेदन पेश गर्ने अन्तिम दिन मानिनेछ। रितपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगरिने राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार