सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज राति देखि ५ गतेसम्म निषेधाज्ञा लागू भएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गत बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले ५ दिनसम्मका लागि वीरेन्द्रनगर बजारमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार मेडिकल, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, दूध, तरकारी, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीका पसलबाहेक अन्य सबै बन्द हुने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले १ भदौ बिहान ६ बजेदेखि ५ भदौ राति १२ बजेसम्म वीरेन्द्रनगर क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताए ।
‘यसपटकको निषेधाज्ञा वीरेन्द्रनगर नगरपालिकामा मात्र लागू हुनेछ,’ उनले भने, ‘यो आदेशको उल्लंघन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने छ ।’