सिन्धुपाल्चोक । प्राकृतिक विपत्तिका हिसाबले अग्रपंत्तिमा रहेको सिन्धुपाल्चोक जिल्लाले साना तथा ठूला सबै खाले विपत्ति भोग्नुपरेको छ । पछिल्लो घटनाबाट लिदी गाउँ अहिले शोकमा छ । स्थानीयले आफू जोखिममा रहेको र स्थानान्तरण गर्दिनु भन्दै धेरै पटक जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुभएको थियो ।
गाउँभन्दा माथिको जमिनमा धाँजा फाटेको भन्दै स्थानीयले बस्ती स्थानान्तरणका लागि पटकपटक प्रशासनसँग आग्रह गर्दै आउनुभएको थियो । समयमै बस्ती स्थानान्तरण नहुँदा धरैले ज्यान गुमाउनुपर्यो भने दर्जनौ अझै बेपत्ता छन् । जुगल गाउँपालिका–२ गोल्चेका अध्यक्ष प्रताप लामाले गाउँ कार्यपालिकाको बैठकमा आफूले आफ्नो वडाको १४९ घर पहिराको जोखिममा रहेकाले स्थानान्तरणको माग राखेको बताउनुभयो । स्थानीयले गाउँको प्रायः ठाउँहरू धाँजा फाटेको, कति ठाउँ बगेको भन्दै पहिले नै असुरक्षित महसुस गरेका थिए । यही साउन २३ गते आठ स्थानीयवासीले सदरमुकाम आएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्रमा उहाँहरूले जोखिमपूर्ण बस्तीको आवश्यक अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्नुभएको थियो । माथिबाट पहिराको डर र तल ब्रम्हायणी नदीमा निर्माण भइरहेको बलेफी ए जलविद्युत् आयोजनाको कारणले बस्ती नै जोखिममा परेको उहाँहरूले निवेदन दिनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने प्राधिकरणले तत्काल स्थानान्तरण गर्नपर्ने अवस्था नरहेको बताएकाले स्थानान्तरण नगरेको बताउनुभयो । उहाँले अहिले क्षति भएको प्रति दुख ब्यक्त गर्दै पहिराबाट बाँचेकालाई अस्थायी रुपमा सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । अत्यावश्यक खाद्यान्न ओडने ओछ्याउने र भाँडाकुडा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । तत्कालका लागि रु १५ हजार दिएको र मृत्यु भएका प्रतिपरिवारलाइ रु दुई लाखका दरले राहत उपलब्ध गराएको ढकालले बताउनुभयो । उहाँले एउटै घरका दुई जना वा सोभन्दा बढीको मृत्यु भएको भए सङ्ख्याअनुसार रु एक लाख बढ्दै जाने बताउनुभयो । लिदीमा शुक्रबार बिहान खसेको पहिरामा परी ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ भने २० बेपत्ता छन् । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको पनि उहाँले जानकारी दिनुभयो । रासस