काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै भरतनारायण प्रधानलाई पशुपति चौलागाई स्मृति अस्पताल, दोलखाको अध्यक्ष नियुक्त गरेको छ । बागमती सरकारको स्वास्थ्य मन्त्रालयले २०७९ मंसिर ९ मा प्रधानलाई अस्पतालको अध्यक्षमा नियुक्ति गरेको हो ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा प्रधानलाई नियुक्ति गरेको बिषयमा निर्वाचन आयोगमा मंगलबार उजुरी परेको छ । दर्ता नम्बर २९२८ को उजुरीमा आचारसंहिता बिपरीत गरिएको नियुक्ति बदर गर्न माग गरिएको छ ।
निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा नियुक्ति, सरुवा लगायतका कुनै पनि काम गर्न पाइँदैन । अत्यावश्यक भएमा निर्वाचन आयोगको सहमति लिएर नियुक्ति गर्नुपर्छ । तर सचिव खड्काले ठूलो रकम घुस लिएर निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा सुटुक्क प्रधानलाई नियुक्ति गरेको आरोप छ ।
नहटेको अवस्थामा लिलाम बढाबढमा प्रधानलाई उक्त अस्पतालको अध्यक्ष नियुुक्ति गरेको आरोप छ । कुनै पनि मन्त्रीस्तरीय नियुक्तिमा सचिवले हस्ताक्षर गर्दैनन् । शाखा अधिकृत तहका कर्मचारीले हस्ताक्षर गर्नुपर्ने नियुक्तिको पत्रमा सचिव आफैले हस्ताक्षर गर्नुले पनि अनियमितताको संकेत गरेको छ ।
स्वास्थ्य मन्त्री निमा लामा र बद्रीबहादुर खड्काले प्रधानबाट लाभ लिएर सुटुक्क नियुक्ति गरी पत्र प्रधानलाई दिएको आरोप छ । कर्मचारीबाट सूचना लिक हुने भएपछि सचिव आफैले हस्ताक्षर गरेका छन् । मन्त्री निमा लामालाई यसपटक कांग्रेसले प्रदेशमा सांसदको टिकट नै नदिएकाले उनी प्रदेश सरकार गठन नहुँदै सचिव खड्कासँग मिलेर आर्थिक लाभ हुने नियम कानुन बिपरीतका काम गर्न तल्लीन छन् ।
निर्वाचन आचारसंहिता बिपरीत अस्पतालको अध्यक्ष नियुक्ति गरिएकोबारेमा सचिव खड्कासँग प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।