Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइजीपी सिंहद्वारा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मातहतका प्रहरीलाई निर्देशन 


    बुधबार, कार्तिक ३० २०७९
    885
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकतालाई अक्षुण्ण राख्दै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं सुरक्षित तवरबाट भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिवद्ध हुनुपर्ने बताएका छन् । 

     नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअलरुपमा भिडियो कन्फ्रेन्समार्फत् बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचन लक्षित निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन् ।

     निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई औंल्याई त्यसको निराकरण गर्ने उपायहरू अबलम्बन गर्दै अझ बढी सक्रिय भई निर्वाचन अनुकूल वातावरण बनाउने गरी काम गर्नुपर्ने बताएका छन् । 
    सम्पूर्ण नेपाल प्रहरीका कर्मचारीहरूले ब्यावसायिकतालाई बोलीमा मात्र नभई व्यवहारमा समेत सतप्रतिशत लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् । निर्वाचन नेपाल प्रहरीको परीक्षाको घडीको रूपमा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई अब्बल साबित गर्ने गरी काम गर्न कार्यालय प्रमुखहरूले आफ्ना मातहतमा खटिने प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन र आफ्नो जिम्मेवारी सम्बन्धी आवश्यक बिफ्रिङ गर्न दिएका छन् ।

     प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी सम्पूर्ण नेपाली नागरिकको भरोसाको केन्द्र भएकाले निर्वाचनको समयमा तटस्थ भई आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिए । निर्वाचनको मौन अवधिमा निर्वाचन विथोल्ने क्रियाकलाप अझ बढी हुनसक्ने भएको उल्लेख गर्दै यस्ता चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरू उच्च सतर्कता र अझ बढी संवेदनशील भएर निर्वाचन सुरक्षामा केन्द्रित हुनुपर्ने उल्लेख गरे । हरेक काम औचित्य पुष्टी हुनेगरी हुनुपर्ने र कर्तव्यनिष्ठाको क्रममा गरिएका काम–कारवाहीप्रति संगठनको सदैव साथ रहने उनले बताए । सहयोगीका रुपमा रहेका म्यादी प्रहरीको उच्च प्रयोग गर्दै निर्वाचन सुरक्षा व्यवस्थालाई चुस्त बनाउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले अति संवेदनशील क्षेत्रहरूमा आवश्यक सुरक्षा योजना, रणनीति तय गरी काम गर्न निर्देशन दिए ।

     यसअघि कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले निर्वाचन महापर्व भएकाले निष्पक्ष र विवेकसम्मत रूपमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न निर्देशन दिएका थिए ।

     उक्त अवसरमा वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिका साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार