भैरहवा । देशमा निर्वाचनको माहोल बढेको छ । सुरक्षाकर्मीहरू पनि निर्वाचनमै केन्द्रित बनेका छन् । ४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी निर्वाचनको सुरक्षामा खटिएको मौका पारेर सीमावर्ती क्षेत्रमा तस्करी मौलाएको छ । गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणकै आडमा लुम्बिनी प्रदेशका भारतसँग सीमा जोडिएका ४ जिल्लामा तस्करी मौलाएको छ ।
निर्वाचनको मौका छोपी विगत १ महिनादेखि लुम्बिनी प्रदेशको भैरहवा भन्सार, कपिलवस्तुको कृष्णनगर भन्सार र नवलपरासीको महेशपुर लगायतका नाकाबाट तस्करी मौलाएको छ । लुम्बिनी प्रदेशका डीआइजी नलप्रसाद उपाध्यायले बिगतका बदनाम घुमुवाहरुलाई नै तस्करीको मुख्य नाकामा तैनाथ गरी निर्वाचनको मौकामा तस्करीको लाइन चलाएका छन् । उपाध्यायले लुम्बिनी प्रदेश मातहतका सीमा क्षेत्रका प्रहरी कार्यालयबाट गएको भदौदेखि खुलेआम तस्करी गराउँदै मासिक लाखौं लाख असुली गर्दैआएको आरोप छ ।
गृहमन्त्री बालकृष्ण खाँणका भाइ तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले ढुक्क भएर तस्करीको लाइन चलाउनका लागि डीआइजी नलप्रसादलाई साथ दिएका छन् । डीआइजी नलप्रसादकै संरक्षणमा लुम्बिनीका नवलपरासी, बाँके, रुपन्देही र कपिलवस्तुबाट खुलेआम तस्करी हुने गरेको गुनासो आए पनि गृहमन्त्री खाँणकै भाइको आडभरोसा प्राप्त भएकाले प्रहरी प्रधान कार्यालयले समेत चासो नदिएको बताइन्छ ।
मल तस्करीः किसानलाई सास्ती, तस्करलाई छुट
अहिले गहुँ छर्ने समय हो । किसानलाई मलको सकस छ । एक दुई बोरा मल ल्याउन नसके बाली लगाउन समस्या हुने भन्दै किसानहरू भारतीय बजारबाट लुकिछिपी मल ल्याउने ध्याउन्नमा लागेका छन् । जसको फाइदा तस्करहरूले उठाइरहेका छन् । तस्करहरूले खुलेआम मोटरसाइकलले थेग्न नसक्ने गरी सुरक्षाकर्मीकै युनिट अगाडिबाट तस्करी गरिरहेका छन् । तर किसानहरुले साइकलमा एक बोरा मल ल्याए प्रहरीले जफत गर्ने गरेको छ । तर तस्करहरुले भने प्रहरीकै आगाडि मल, चिनी जस्ता सामग्री तस्करीबाट नेपालमा ल्याउँदा पनि प्रहरीले छुट दिने गरेको छ ।
रुपन्देही गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला हो । उनी अहिले निर्वाचन प्रचारप्रसारमा लागेका छन् । मर्चवारका कदमहवा नाकाबाट ट्याकटरमै मल तस्करी हुने गरेको छ । चिनीको मुख्य तस्करी नाकाको रूपमा परिचय बनाएको मर्चवारकै दुर्र्गाैलियामा सीमा टाँसिएर रहेका घरहरूमा चिनीको गोदाम नै छ । पारिबाट ल्याएर गोदाममा राख्ने र आवश्यकतअनुसार भैरहवा, बेथरी, अमवा, मणिग्राम बुटवलसम्म मोटरसाइकलमा लोड गरी दैनिक रूपमा लैजाने गरिएको छ । भारतीय बजारमा ५० रुपैयाँ नेपाली रुपैयाँमा पाइने त्यही तस्करीको चिनी नेपालमा प्रतिकिलो १ सय रुपैयाँ पर्छ ।
यसैगरी तस्करीको चिनी नेपालमा ल्याउने र नेपाली चिनी उद्योगले त्यही चिनी नेपाली उत्पादन भन्दै दोब्बर मूल्यमा बिक्री गर्दैआएका छन् । जसको नेतृत्व मेरियट होटलका मालिक शशीकान्त अग्रवालले गर्दैआएका छन् ।
त्रिलोकपुर नाकाबाट मोटरसाइकलमै अवैध माछा दैनिक रूपमा नेपाल आउने गरेका छन् । चिनी, माछा, कपडा मात्रै होइन पछिल्लो समय दैनिक उपभोग्य वस्तु, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रिकलगायतका सामान दुर्गौलिया, कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई, सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनियालगायतका नाकाबाट तस्करी हुने गरेको छ । पिकअप, ट्याक्टर, मोटरसाइकल र साइकल ठाउँअनुसार तस्करहरूले प्रयोग गर्ने गरेका छन् ।
केही महिनाअघि मात्रै यही नाकाबाट भारतीय एसएसबी र कस्टमको संयुक्त टिमले तीनवटा कपडासहितको पिकअप नियन्त्रणमा लिएको थियो । मंगलबार भैरहवा भन्सार कार्यालयमा दुई करोड बढीको सामान नियन्त्रणमा लिइएको थियो । भन्सार हुने सामान पनि तस्करीको बाटो लागेकाले लक्ष्य प्राप्त गर्न गाह्रो भएको कार्यालयका प्रमुख मणिराम पौडेलले बताए । बरामद वस्तुमा सुर्ती, कपडा, जुत्ता र गुट्खा उद्योगका कच्चा पदार्थ र प्याकिङका सामान छन् ।
रुपन्देहीको पश्चिमी क्षेत्रमा पनि तस्करी मौलाएको छ । सीमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरूले पनि धान, गहुँ र चामल अवैध रुपमा भित्र्याई वैध बनाउने गरेका छन् । पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रूपमै ट्याक्टर पिकअपबाट विभिन्न सहरमा पठाउने गरिएको छ ।
बेथरी, पिपरहिया, मैनहिया, बगहा, दुर्गौलिया, मर्यादपुर, मेउडिहवालगायतका चौकीको अगाडिबाटै तस्करीका सामान निर्धक्क साथ आउने गरेको छ । खुला सिमाबाट जे जस्तो अवस्थामा ल्याए पनि ती सामान प्रहरी पोस्टकै अगाडिबाट जाँदासमेत प्रहरीले वास्ता नगर्नु मिलेमतोमा तस्करी भइरहेको आशंका गरिएको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमै तस्करी नियन्त्रण गर्ने रणनीति बनाएको छ । रुपन्देहीमा प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकको कमान्डामा १३ वटा इलाका प्रहरी कार्यालय, सई असईको कमान्डमा ४६ वटा प्रहरी चौकी छनु । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको कमान्डमा जिल्लामा कुल ७८ वटा प्रहरी युनिट छन् । ठाउँठाउँमा अस्थायी चेकपोस्ट र मोबाइल टोली, तस्करी नियन्त्रण गर्न, अनुसन्धान र सूचनाहरू लिन जिल्लाले सादा पोसाकका प्रहरी पनि खटिने गरेका छन् । यीमध्ये तस्करी हुने मुख्य नाकामा विगतमा विवादमा परी सरुवा भएका प्रहरी इन्चार्जहरुलाई खटाइएको छ । डीआइजी उपाध्यायले कुन भन्सार कति बढी चल्छ, त्यही अनुसार मासिक दररेट बु्झाउनेगरी इन्चार्ज खटाएको आरोप छ । केही महिनाअघि गएको उच्चस्तरीय प्रहरीको टोलीले लुम्बिनी प्रदेशका ४ वटा जिल्लाबाट प्रदेश प्रहरीकै संरक्षणमा खुलेआम तस्करी हुँदैआएको बिषयमा प्रहरी प्रधान कार्यालयमा समेत जानकारी गराएको थियो । तर गृहमन्त्रीकै भाइको संरक्षणमा डीआइजी नलप्रसादले तस्करीको नेटवर्क संचालन गरेकाले प्रहरी प्रधान कार्यालय थाहा पाएर पनि चुप बसेको छ ।
सिमा सुरक्षा र तस्करी नियन्त्रणका लागि जिल्लाको सुरक्षाका लागि सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटर छ । सीमाको सुरक्षा तथा अन्य गरी अहिले जिल्लामा १५ वटा सशस्त्र प्रहरी बलको युनिट छन् । एउटा गण, ६ वटा बोर्डर आउट पोष्ट र गुल्म, सुरक्षा बेस, जिल्ला कमान्ड पोस्ट सुख्खा बन्दरगाह र आईसीपी क्याम्प नौडिहवालगायतमा सशस्त्र प्रहरीकै युनिट रहेको छ । भारतसँग ५९ दशमलव ७ किमी जोडिएको सिमानासहित समग्र जिल्लाको सुरक्षा यिनै सुरक्षा निकायले गर्दै आएका छन् । तर पनि तस्करी रोकिएको छैन । सशस्त्र प्रहरी पनि गृहमन्त्रीका भाइ र नेपाल प्रहरीका डीआइजी नलप्रसादका अगाडि लाचार जस्तै छ । तस्करी भएको र राजस्व मारेको टुलुटुलु हेर्न बाध्य जस्तै छ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend