Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्रको खरिदमा स्पेक परिवर्तनः आइजीपी अर्यालको कार्यकालमा पनि खरिदमा ठेकेदारकै सेटिङ


    सोमबार, कार्तिक २१ २०७९
    3.4K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलभित्र बन्दोबस्तीका सामान खरिदमा चलखेल सुरु भएको छ । सशस्त्रको खरिदमा सेटिङ भएका ठेकेदारसँग सामान खरिद गर्न स्पेसिफिकेसन परिवर्तन गर्ने खेल भएको छ ।

    एउटामात्र कम्पनीलाई अनूकल हुनेगरी स्पेसिफिकेसन परिवर्तन गर्ने र उसैको कम्पनीबाट सामान खरिदका लागि सेटिङ भइसकेको स्रोतले बताएको छ । पछिल्लो पटक टेण्डरमा उल्लेखित चुस्ता र बुटको स्पेक परिवर्तन गर्नेगरी श्रवण अग्रवालसहितका २ ठेकेदारसँग सेटिङ भइसकेको छ । सशस्त्रमा सबैभन्दा बढी चुस्ताको खरिद हुन्छ । ३७ हजार सशस्त्रका लागि खरिद हुने चुस्ताको स्पेक श्रवण अग्रवालको कम्पनीसँग मिल्नेगरी परिवर्तन गर्नेगरी सेटिङ भइसकेको छ । सशस्त्रमा सबैभन्दा बढी बजेट चुस्ता खरिदमा हुन्छ । त्यसपछि बुट हो । 
     
    निर्वाचनको सम्मुखमा पारी सशस्त्रले ३७ हजार सेट चुस्ता, ३५ हजार जोर बुट, ३० हजार मिटर कटन सर्ट, २० हजार मिटर कटन पाइन्ट, ५ हजार थान म्याट्रेस(ओछ्याउने) १० हजार जोर स्वीटर, ७ हजार थान पन्चु, ५ हजार थान झु्ल, बेल्ट, पार्का ज्याकेट, अन्डरभेष्ट ट्राउजर, टोपी, ब्यारेट क्याप लगायतका  टेण्डर गरेको छ । जुन टेण्डर २०७९ कात्तिक २८ गते खुल्दैछ । कात्तिक २८ गते टेण्डर खुलाइसकेपछि चुस्ता र बुटको नमूना माग्ने र अग्रवालसहितका २ ठेकेदारको मात्र सामानसँग मिल्नेगरी स्पेक परिवर्तन गरिंदैछ ।   

     सशस्त्रको खरिदमा पूर्वआइजीपी शैलेन्द्र खनालकै पालाको समूहको चलखेल अहिले पनि कायम छ । जसमा प्रबन्धका एसएसपी दीपेन्द्र कुँवर, लेखाका इन्स्पेक्टर गणेशबहादुर मल्ल मुख्य हर्ताकर्ता हुन् । कुँवर एसपी हुँदै प्रबन्धमा निमित्त भएर खरिदमा करोडौंको हेराफेरी गर्दैआएका हुन् ।

    बरिष्ठ एसपीहरुको लर्को हुँदाहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाका पीए भानु देउवाको बहिनीज्वाई भएकै आधारमा एसएसपी बढुवा भएका कुँवर नै सशस्त्रका वास्तविक आइजीपी हुन् । मल्ल साढे ४ बर्षदेखि सशस्त्रको लेखामा रजगज गर्ने र खरिदमा हुने भ्रष्टाचारका मुख्य पात्र हुन् । एसएसपी कुँवर र मल्ललाई परिचालन गर्ने कार्य प्रशासन विभागका एआइजी नारायणदत्त पौडेलले गर्ने गरेका  छन् ।

     आइजीपी राजु अर्यालले सबै अधिकार एआइजी पौडेललाई दिएकाले यो तीन सदस्यीय समूहले सशस्त्रको खरिदमा सेटिङ गरेको स्रोत बताउँछ । सशस्त्रको खरिदमा सेटिङ गर्ने पौडेल, कुँवर र मल्लको समूहले श्रवण अग्रवालसँग उनको कम्पनीसँग मिल्नेगरी स्पेक परिवर्तन गर्ने सहमति गरिसकेको छ । चुनावको अवसरमा हल्लाखल्ला नहुने भएकाले यही मौकामा टेण्डर खोली श्रवण अग्रवालको समूहलाई आगामी ३ बर्षसम्म सशस्त्रको सबै बन्दोबस्तीका सामानको टेण्डर दिनेगरी एसएसपी दीपेन्द्र कुँवरले सेटिङ मिलाएका स्पेक परिवर्तन गर्ने भएका छन् । 

    सशस्त्रले यसअघि शैलेन्द्र खनालका पालामा खरिद गरेको चु्स्ता २ पटक धुनासाथ खुइलिने र भुवा आउन खालको अति नै कमसल भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । बुट एक महिनामै च्यातिएको गुनासो अख्तियार, हेल्लो सरकार जस्ता निकायमा परेपछि गएको जेठमा राजु अर्यालले छानबिन समिति गठन गरेका थिए । गुल्म, गण र बाहिनीहरुमा एसएसपी, एसपीहरु छानबिन गर्न पठाइएको थियो ।

    छानबिनका क्रममा गुनासो गरिएजस्तै चुस्ता र बुट गुणस्तरहीन पाइएपछि ठेकेदार र तत्कालीन आर्थिक प्रशासन प्रमुख एसएसपी दीपेन्द्र शाह(हाल ककनी तालिम केन्द्र प्रमुख) निलम्बन हुने भएपछि प्रधानमन्त्री देउवाका पीए भानुकोमा पुगेका थिए । भानुले आइजीपी अर्याललाई त्यो छानबिन रोक्न निर्देशन दिएपछि फासफुस भएको थियो । आइजीपी अर्यालले विवादमा पर्ने त्रासले सबै अधिकार एआइजी पौडेललाई दिएका छन् । पौडेल र कुँँवरको समूहले सशस्त्रमा एकै ठेकेदारलाई मात्र मिल्नेगरी स्पेक परिवर्तन गर्न लागेको छ । 

       खनालको पालामा ३ बर्ष एकै ठेकेदारसँग मिल्नेगरी स्पेक परिवर्तन गरियो । र, एउटै समूहले सशस्त्रको ठेक्का कब्जा गरेको थियो । बार्षिक ४० करोडभन्दा बढीको ठेक्का एकै समूहले पाएको थियो । पौडेल यसअघि आर्थिक प्रशासनमा पनि बसेका थिए । उनी त्यतिबेला खरिदमा विवादमा परेपछि सरुवा भएका थिए । पौडेलको ठेकेदार श्रवण अग्रवालसँग आर्थिक प्रशासनमा बस्दादेखि बाक्लो उठबस रहँदैआएको छ । 

    पछिल्लो समयमा अनलाइन टेण्डर गर्नुपर्ने ब्यवस्था छ । अनलाइनमा टेण्डर बिड गरिसकेपछि खोल्ने दिन आ आफ्नो कम्पनीको सामानको नमूना ठेकेदारले बुझाउनुपर्नेछ । ती बुझाएका सामान मध्येबाट गुणस्तरीय सामान गुणस्तर परीक्षणका लागि पठाउने र पास भएको सामानमध्येबाट कम दरमा पेश भएको खरिद गर्नुपर्ने खरिद ऐनको प्रावधान छ । 

    सशस्त्रको खरिदमा अपारदर्शी चलखेल र प्रतिस्पर्धालाई सीमित गर्न एउटै ठेकेदारको अनुकूल हुनेगरी स्पेक परिवर्तन गर्न लागिएकोबारेमा प्रशासन विभाग प्रमुख एआइजी नारायणदत्त पौडेलसँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आएनन् ।   

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार