सर्लाही । पाँचदलीय गठबन्धनको सहमति अनुसार खडा गरिएका उम्मेदवार हराउन तिनै दलका नेता र जनप्रतिनिधि नै लागेका छन् । सर्लाहीको क्षेत्र नम्बर ३ मा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादीका नरेन्द्र साह प्रतिनिधिसभाका उम्मेदवार छन् । उनलाई हराउन माओवादीकै बागमती नगरपालिकाका प्रमुख भरत थापा नै लागेका छन् ।
मेयर थापाले सर्लाही ३ (क) प्रदेशमा जवाहर महतोलाई बागी उम्मेदवार उठाएपछि गठबन्धन दलभित्र अविश्वास पैदा भएको छ । सर्लाही ३ (क) मा गठबन्धनबाट नेकपा एकीकृत(समाजवादी)का डिल्ली उप्रेती उम्मेदवार छन् । उप्रेतीका बिरुद्ध मेयर थापाले महतोलाई बागी उठाएपछि गठबन्धन दलभित्र एक अर्कामा अविश्वास पैदा भएको हो । थापाले महतोलाई बागी उठाउने र चुनावका लागि आर्थिकदेखि जनशक्तिसमेत परिचालन गरेपछि नेकपा एकीकृत समाजवादी प्रतिनिधिसभामा माओवादी उम्मेदवार नरेन्द्र साहका बिरुद्ध एमालेलाई सहयोग गर्ने तहमा पुग्दैछ । सर्लाही ३ का प्रदेश उम्मेदवार उप्रेती त्यस क्षेत्रमा जनाधार भएका नेता मानिन्छन् ।
नेकपा समाजवादी सर्लाहीका एक नेताले भने–प्रदेशमा डिल्लीलाई हराउन माओवादी लागेपछि समाजवादी पनि प्रतिनिधिसभामा माओवादी उम्मेदवार साह हराउने र एमालेका हरि उप्रेतीलाई मतदान गर्ने अवस्था आउनेछ । प्रदेशमा माओवादीले थापाले उठाएका उम्मेदवारलाई निस्क्रिय नपारेमा समाजवादीका अगाडि अर्को विकल्प नभएको ती नेता बताउँछन् । प्रदेशसभा सदस्य उप्रेतीसँग बागमतीका मेयर थापाले मागे अनुसारको बजेट नहालेको झोँकमा उनले एमालेका उम्मेदवार गणेश प्रसाईसँग साँठगाँठ गरी महतोलाई बागी उठाएको आरोप छ ।
विवादै विवादमा मेयर थापा
नगरपालिकाको बजेटबाट बनाएको ताल आफ्नै नाममा राखेपछि विवादमा आएका थापा धेरै आर्थिक अनियमितातामा मुछिएका छन् । नगरपालिकाको नामबाट बनाएको तालको नाम भरत राखेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखासमितमा परेपछि नाम परिवर्तन गर्न उनी बाध्य भएका थिए । तालका विभिन्न संरचना बनाउन प्रदेश सरकारले दिएको अनुदान मेयर र कर्मचारी मिलेर अनियमितता गरेको फेहरिस्तसहित उजुरी परेपछि उनी भरत तालको नाम फेर्न बाध्य भएका थिए ।
अख्तियारमा हालिएको उजुरीमा नगरपालिकामा भएको कालोपत्रे, शिक्षा स्वास्थ्य लगायतका कैयौं क्षेत्रमा भ्रष्टाचार भएको उल्लेख गरिएको छ । मेयर थापा त्यहाँका स्थानीय क्रसर व्यापारी हुन् । भरत तालदेखि नगरका सबै काम आफ्नै कम्पनीबाट गर्नेगरेको र गिटी र बालुवा समेत मनपरी परिमाण लेखी लाखौं लाख भुक्तानी दिएको विषय उठ्दैआएको छ । मेयर थापाले सडक निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरिएको र कामभन्दा बढी नापजाँच गर्दै आर्थिक अपचलन गरेको आरोप उजुरीमा लगाइएको छ ।
त्यतिमात्र होइन बागमती नदी र पोखरीबाट नदीजन्य पदार्थ ल्याउनका लागि नगरप्रमुख थापाले आफ्ना व्यापारिक साझेदार रहेका रामकृष्ण केसीलाई स्वीकृत दिएको कुरा उजुरीमा छ । मेयर थापाका साझेदार केसीले नदीजन्य पदार्थ उत्खनन गरेबापत एक रुपैयाँ पनि राजस्व बुझाउने नगरेको बिषय समेत उल्लेख छ ।
उजुरीमा उल्लेख गरिए अनुसार १ सय २१ विगाहामा ताल खनेर त्यसबाट निस्किएको ढुंगा, बालुवा बेचेको र त्यसबापतको राजस्व हिनामिना गरिएको उजुरीमा उल्लेख छ ।
मेयर थापाको बिगत पनि विवादित नै छ । उनी २०५६ सम्म सञ्जय साह (टक्ला) को सडक ढाठ ठेक्कामा कर्मचारी थिए । मासिक तलवमा काम गर्ने कर्मचारीका रूपमा छिरेका उनी केही समयमा सञ्जयलाई प्रभावमा पारेर पार्टनर बनेका थिए । माओवादीमा प्रवेश गरेपछि पार्टीको लागि भन्दै उनले संजयसँग सेयर मागेका थिए ।
भरत थापाले मेयर भएपछि अकूत सम्पत्ति आर्जन गरेको विवरण पनि उजुरीमा छ । उनको सम्पतिको नाममा पैतृक सम्पत्ति ६ कठ्ठा ९(अब्बल), १ विघा २ कठ्ठा बगर र एउटा काठे घर थियो । माओवादीमा लागेपछि चमत्कारीक रूपमा उनको सम्पत्ति बढेको छ । थापाले काठमाडौँमा २ वटा घर, सर्लाहीको कर्मैयामा पेट्रोल पम्प, ३ वटा भवन, २ वटा क्रसर, निर्माण औजार, सर्लाहीमा १० बिघाभन्दा बढी जग्गा जम्मा गरेका छन् ।
थापाले २०५६ सालदेखि बागमती नदीको निर्माण सामग्री एकलौटी ठेक्का लिए उनको दाबी छ । त्यहाँ अरू कसैले निर्माण सामग्री झिक्न पाउँदैनन् । उनले एउटा सिन्डिकेट नै खडा गरेका छन् ।