Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाटोको फोहोर सफा हुन एक साता लाग्ने


    आइतबार, साउन २२ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन । दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो । त्यति बेला वर्षाको कारण करिब १० दिन जति फोहोर उठ्न सकेन ।
    पछिल्लो समय फोहोर नफ्याँक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौं महानगरपालिकाले बाटोको फोहोर नउठाई घरबाट निस्केको फोहोर मात्र उठाउन थालेको छ ।

    अझ करिब १० दिनदेखि थुप्रिएको घरघरको फोहोर भोलिबाट मात्र उठाउने भएको छ । कामपाको आग्रह मान्ने जनताको घरघरमै गएर फोहोर उठाउन थालेका र बाटोको फोहोर भने दुई दिनपछि मात्रै उठाइने जानकारी दिँदै कामपा वातवरण व्यवस्थापन विभाग ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले भन्नुभयो– ‘कामपाले सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गरी घरको फोहोर बाटोमा फालेपछि केही दिन बाटोको फोहोर नउठाउने भएका छौं ।’
    महानगरले एक सातायता दैनिक करिब २ सय ट्रक फोहोर व्यवस्थापन गरिरहेको छ । हिजो शनिबार २ सय ४३ ट्रन फोहोर बन्चरेमा पु¥याइएको इन्जिनियर श्रेष्ठको भनाइ थियो ।

    कामपाका प्रवक्ता नविन मानन्धरले केही दिनपछि राजधानीको फोहोर पूर्णरूपमा सफा भइसक्ने दाबी गर्दै भन्नुभयो –‘घरको फोहोर उठाइसकेपछि बाटोको शुरू गर्नेछौं ।’ उहाँले हिजोदेखि भित्री शहरमा बाटोमा थुप्रिएको फोहोर उठाएको दाबी गरे तापनि फोहोर खासै उठेको छैन । उहाँले स्थानीयले अवरोध नगरेमा अबको एक साताभित्र राजधानीको सडक, गल्लीमा थुप्रिएको फोहोर उठाइसक्ने दाबी पनि गर्नुभयो ।

    कामपाले निजी क्षेत्रको सहयोग लिएर फोहोर संकलन गर्ने जनाएको छ । महानगरको करिब ८० प्रतिशत फोहोर निजी क्षेत्रले व्यवस्थापन गरिरहेको छ । त्यसअघि स्थानीय जनताले विभिन्न माग राखेर फोहोर अबरुद्ध गरेको थियो । करिब तीन महिनाअघि मुड्खु–तीनपिप्ले सडक निर्माण गर्नुपर्ने माग गर्दै हप्तौं दिन फोहोर विसर्जन हुन सकेको थिएन । कहिले स्थानीय त कहिले स्थानीय तहकै कारण महिनौंदेखि राजधानीलगायत स्थानीय निकायको फोहोर विसर्जन हुन सकेको छैन ।

    हाल विशेष गरी काठमाडौंका पुतली सडक, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, कुलेश्वर ,थापागाउँ, बालाजु कोटेश्वरलगायत दर्जनभन्दा बढी स्थानको फोहोर बाटौमै छरिएको छ । ती फोहोरले गर्दा पैदलयात्रीलाई समेत समस्या परेको छ । कतिपय क्षेत्रको फुटपाथमा समेत फोहोरको डुंगुर देखिएको छ । आजको समाचारपत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार