Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टान नेतृत्वका लागि चुनावी दौडधुप


    आइतबार, साउन १५ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि चार व्यवसायीबीच चुनावी दौडधुप चलेको छ। यही साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका प्रत्याशीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन्।

    साथै उनीहरूले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न दौडधुप र छलफललाई तीव्रता दिएका छन्। टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बास्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र कमल सापकोटा विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुटेका छन्।

    प्रत्यासीमध्ये बास्तोला टानका पूर्वउपाध्यक्ष हुन् भने भण्डारी र सापकोटाले टान कार्यसमितिमा रहेर काम गरिसकेका छन्। अध्यक्षका अर्का प्रत्यासी कमल सापकोटा पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। होटल तथा ट्रेकिङ व्यवसायमा चारै जना अब्बल गनिन्छन्।

    टान निर्वाचनका लागि मिति तय भएसँगै आकांक्षी उम्मेदवारले आफ्ना प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा लागेको टानका अध्यक्ष खुम सुवेदीले बताए। उनले टान नेतृत्व सकेसम्म सहमतिमा गर्ने प्रयास गरिए पनि व्यवसायीले प्यानलसहित उम्मेदवारी घोषणा गरिरहेकाले निर्वाचनबाटै नेतृत्व चयन हुने उल्लेख गरे।

    अध्यक्ष सुवेदीले भने, ‘टानको वार्षिक साधारणसभा एवं निर्वाचन साउन ३० घोषणा गरिएको छ। सहमतिबाटै नेतृत्व चयनका लागि छलफल भइरहेको छ, सहमति भएन भने निर्वाचनबाटै नेतृत्व चयन हुन्छ। त्यसका लागि व्यावसायिक छलफल जारी छ।’

    टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ। टानमा करिब एक हजार आठ सय व्यवसायी आबद्ध छन्।

    यस्ता छन् प्रतिस्पर्धी उम्मेदवार

    अध्यक्षका प्रत्यासी बास्तोलाले पर्यटन व्यवसायलाई अहिलेको डिजिटल युग सुहाउँदो समयसापेक्ष बजारीकरण गरेर प्रवर्द्धनमा जुट्ने बताए। उनी टानलाई अझै सशक्त व्यावसायिक संस्थाका रुपमा अगाडि बढाउने बताउँछन्। बास्तोलाले नेपालको पर्यटन उद्योगको मुख्य आधार नै पर्वतीय पर्यटन भएकाले कोभिड-१९ ले थलिएको समग्र पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न भूमिका खेल्ने बताए।

    विगत २६ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध बास्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ। बास्तोला सन् २०१३-२०१५ मा टानको कार्यसमिति सदस्य एवं सन् २०१७-२०१९ मा द्वितीय उपाध्यक्ष निर्वाचित भएका थिए।

    अध्यक्षका अर्का प्रतिस्पर्धी व्यवसायी राजेन्द्रप्रसाद सापकोटा पर्यटन क्षेत्रका विभिन्न संस्थाको नेतृत्वमा रहिसकेका छन्। आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाको ठमेलमा पर्यटकीय होटल सञ्चालनमा छ। सापकोटा नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यसमेत हुन्।

    पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको उनले बताए। उनले निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवर्द्धनात्मक कामलाई अघि बढाउने विश्वास व्यक्त गरे। सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गरिनुपर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार