पोखरा । पोखरामा पछिल्लो समय एक पछि अर्को एटिएम मेसिन फोड्ने घटना बढिरहेका छन् । पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटिएम चोरी भएको छ । त्योपनि विना हात हतियार । पोखरा महानगरपालिका २६ अर्घौचोकमा रहेको एनएमबी बैंकको एटिएमलाई विना हात हतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ ।
नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंशपुरको बिचमा रहेको अर्घौचोकबाट एटिएम फोडेर रकम निकालिएको हो । यस अघि पोखरा ९ नयाँ बजारमा पनि एटिएम फोडेर चोरीको प्रयास भएको थियो । शुक्रबार मात्रै उक्त घटना घटेको थियो । घटना घटेको ६ दिनमा फेरी अर्को उस्तै घटना भएको हो । दुवै एटिएम रातको समयमा फोडिएको छ । लेखनाथमा भने एटिएमको लक सामान्य तरिकाले नै खोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेका सिसिटिभि क्यामेरामा स्पष्ट देखिएको छ ।
रकम रहेको बाकस भने विचारी चौतारीमा भेटिएको छ । तर, रकम जति सबै लगिएको छ । उक्त एटिएममा बैंकले सोमबार दिउँसो मात्रै १७ लाख रुपैयाँ राखेको स्रोतले जानकारी दिए । बैंकबाट करिब १५ लाख हारहारीमा चोरी भएको हुन सक्ने अनुमान रहेको स्रोतको भनाइ छ । ‘सबैकुरा अनुसन्धानको पाटोमा रहेको छ । यतिनै भनेर भन्न मिल्ने अवस्था छैन् । एटिएमबाट कति रकम सेवाग्राहीले निकाले भन्ने कुरा पनि अनुसन्धानमै रहेको छ’ स्रोतले भने । उनका अनुसार बैंकका कर्मचारीहरु माथि समेत अनुसन्धान भइरहेको छ ।
पोखरा महानगरपालिका ८ न्यूरोडमा भने एन।आई।सी। एशिया बैंकको एटिएमबाट रकम चोरीको प्रयास भएको थियो । एटिएमबाट रकम निकाल्न एक युवाले एटिएम मेसिन फोड्ने प्रयास गरेका थिए । रुकुम घरभई हाल पोखरा ९ पृथ्वीचोक बस्दै आएका १९ वर्षीय नरेश पुन मगरले गैँचीले हानेर एटिएम मेसिन फोड्ने प्रयास गरेका थिए । प्रहरीले उनलाई शनिबार पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले घटनाबारे अनुसन्धान भइराखेको जानकारी दिए । उनले घटनामा प्राविधिक बुझेको या सिस्टम सम्बन्धि ज्ञान भएको व्यक्तिले नै रकम चोरी गरेको हुनसक्ने देखिएको बताए ।
पोखरामा घटेका पछिल्ला एटिएम चोरीको प्रयास यो छैटौं रहेको छ । उनी डिएसपी भएर जिल्लामा आएपश्चातको यो छैटौं घटना हो । आजका नेपाल समाचारपत्र दैनिकबाट