Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सीटीस्क्यान खरिदमा इन्द्र बनियाँदेखि राजेन्द्र पाण्डे र जम्कट्टेलको सेटिङ भताभुङ्ग, ७ करोड घोटाला गर्ने योजना असफल


    मंगलबार, असार २१ २०७९
    700
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौंं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन केन्द्रले ५ वटा सीटीस्क्यान मेसिन खरिद प्रक्रियामा ७ करोड रुपैयाँ अनियमितता भएको बिषयमा प्रदेशसभाको सार्वजनिक लेखासमितिले छानबिन सुरु गरेपछि कम दरमा कबोल गर्ने  क्यापिटल इन्टरप्राइजेजले ठेक्का पाउने संभावना बढेको छ । ७ करोड बढी कबोल गर्ने धिरज थपलियाको मेडट्रोनिक्स नेपाल प्रालि र आरएस भण्डारीको भण्डारी सर्जिकललाई सीटीस्क्यानको ठेक्का दिन नसक्ने जनाउ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्जुन सापकोटाले दिइसकेका छन् ।

    धिरज थपलियाको मेडट्रोनिक्स नेपाल प्रालि नेपाली एजेन्ट रहेको तोसिबा ब्रान्डको सीटीस्क्यानसँग मात्र मिल्ने स्पेसिफिकेसन बनाएर सेटिङ गरी ७ करोड बढी बोलपत्र पेश गर्ने कम्पनीको टेण्डर स्वीकृत गर्दा भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्नसक्ने भएकाले सचिव खड्का र प्रमुख सापकोटाले ठेक्का दिनै नसकिने जनाउ दिएको स्रोतले बताएको छ । टेण्डर सूचना प्रकाशित गरिसकेपछि केन्द्रले ३१ करोड लागत स्टीमेट तयार गरेको थियो ।

    ३१ करोड सिलिङ तोकिएको ५ वटा सीटीस्क्यानको बोलपत्रमा मेडट्रोनिक्स र भण्डारीले साढे ३६ करोड रुपैयाँको प्रस्ताव दर्ता गराएका थिए । स्टीमेटभन्दा साढे ५ करोड बढीमा बोलपत्र पेश गरेको थाहा पाएपछि हतार हतार उक्त कागजात च्यातियो र नयाँ लागत स्टीमेट ३७ करोड बनाइयो । टेण्डर दर्ता नम्बर सबै उही तर लागत स्टीमेट रातारात हेरफेर गरी ३७ करोड पुर्याइएको थियो । हिटाची कम्पनीको सीटीक्स्यानको आपूर्तिकर्ता क्यापिटल  इन्टरप्राइजेजले २९ करोडमा टेण्डर हालेको थियो । तर स्रोतका अनुसार तोसिबासँग मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाई भण्डारी र मेडट्रोनिक्सलाई दिनेगरी नेपाली कांग्रेसका प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँ, मुख्यमन्त्री राजेन्द्र पाण्डे र आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेलबीच सेटिङ भएपछि ७ करोड कम कबोल गर्ने क्यापिटलले सीटीस्क्यानको ठेक्का पाएन ।

    तीनै जनालाई २ करोडका दरले भागशान्ति गर्ने आन्तरिक सेटिङ भण्डारी सर्जिकलका रामशरण भण्डारीले गरेको स्रोत बताउँछ । भण्डारीकै जिल्ला सिन्धुपाल्चोकका मन्त्री निमा लामालाई समेत उनैले मिलाएका थिए । सत्तारुढ दलका प्रदेश अध्यक्ष बानियाँ, मुख्यमन्त्री पाण्डे र अर्थमन्त्री जम्कट्टेल मिलाइसकेको र तोसिबाको मात्रै मिल्नेगरी स्पेक बनाएकाले ठेक्का मेडट्रोनिक्स र भण्डारीले नै पाउने निश्चित भयो । यसबीचमा स्वास्थ्य मन्त्रालयका सचिव खड्का र आर्पूिर्त केन्द्रका सापकोटाले मात्र सेटिङ गरेको समाचार निरन्तर आएपछि सीटीस्क्यान ठेक्का प्रकरणमा सार्वजनिक लेखासमितिले चासो राख्यो । लेखासमितिले बागमती प्रदेशससभाका सांसद न्हुन्छेनारायण मानन्धरको नेतृत्वमा उपसमिति बनाएर छानबिन सुरु गरेपछि सचिव खड्का र केन्द्रका सापकोटा ठेक्का नै नदिने तहमा पुगेका छन् ।

    ७ करोडको चलखेलमा बानियाँ, पाण्डे र जम्कट्टेललाई बराबर भाग लगाएर बाँकी रहेको १ करोड रुपैयाँ मन्त्रालयका कर्मचारी र आपूर्ति केन्द्रका कर्मचारीलाई दिनेगरी आरएस भण्डारीले सेटिङ गरेका थिए । ५ वटा सीटीस्क्यान २९ करोडमै आपूर्ति गर्दा पनि हिटाचीले मुनाफा राखेरै गरेको थियो । उसले कमिसन बढीमा ३ करोडसम्म दिने अनौपचारिक प्रस्ताव गरेको थियो । तर भण्डारीले ७ करोडको प्रस्ताव गरेकाले बानियाँ, पाण्डे र जम्कट्टेलको तीन सदस्यीय हाइकमाण्डले कम दरमा कबोल गर्ने हिटाचीलाई नदिन निर्र्देशन दिए ।

    मिडियामा सेटिङ छताछुल्ल भएपछि कर्मचारी हच्किन पुगेका छन् । सचिव खड्का र सापकोटा टेण्डर रद्द नगरी कम दरमा कबोल गरेको हिटाचीको सीटीस्क्यान खरिद गर्ने पक्षमा छन् । तर बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ भने भण्डारीसँग सीटीस्क्यान खरिद नगरे टेण्डर रद्द गर्न दबाब दिइरहेका छन् । 

    सीटीस्क्यान खरिदको टेण्डर सूचना प्रकाशित भएदेखि नै रामशरण भण्डारीले मेडट्रोनिक्स नेपाल प्रालि र भण्डारी सर्जिकललाई दिनका लागि स्पेसिफिकेसन बनाउँदादेखि नै चलखेल गरेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार