Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वामदेवलाई आफ्नो खेमामा देखाउने ओलीको यस्तो चाल


    बुधबार, साउन १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा बढिरहेको विवाद समाधान हुन सकेको छैन ।

    विवादमा संलग्न पक्षको ध्यान समस्या समाधानमा भन्दा पनि शक्ति प्रदर्शनमा केन्द्रित भएको देखिएको छ । यही क्रमले मंगलबार निरन्तरता पायो ।

    मंगलबार नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीको विवाद समाधानका लागि भन्दै ६ बुँदे सुझाव सार्वजनिक गरे । वामदेवको त्यो सुझावका अधिकांश बुँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहज हुने खालका थिए । यसलाई राजनीतिक वृत्तमा रोचक घटना भनिएको छ ।

    योसँगै वामदेव ओली खेमामा पुगेको चर्चा ह्वात्तै चुलियो । वामदेवले अहिलेसम्म आफू ओली खेमामा रहेको पुष्टि हुने कुनै आधार दिएका छैनन् । उनलाई तथाकथित विश्लेषणका आधारमा मात्र ओली खेमामा पुर्‍याइएको उनका निकटस्थको आरोप छ ।

    तर ओलीका लागि भने वामदेवको सुझाव ठूलो हतियार बन्यो । पार्टीभित्र चरम अल्पमतमा परेका उनले वामदेव आफ्नै खेमामा रहेको देखाउन जुक्ति निकाले ।

    मंगलबार साँझ उनी पत्नी राधिका शाक्यसहित वामदेव निवास पुगे । दलबलसहित वामदेव निवास भैंसेपाटी गएपनि उनले नख्खु पुगेपछि मात्रै आफू आएको जानकारी दिएका थिए ।

    सो भेटमा ३० जना सहभागी भएको र यसको कुनै राजनीतिक अर्थ समेत नरहेको वामदेवका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताएका छन् । पारिवारिक भेटघाट भन्दै वामदेव निवासमा २ घण्टा बसेर ओलीले वामदेव आफ्नो खेमामा आएको ‘विज्ञापन’ गराए । पारिवारिक भेटघाट र खानपानलाई ओलीले राजनीतिक अस्त्रको रुपमा प्रयोग गर्न सफल भएको देखिएको छ ।

    यसरी आयो ६ बुँदे सुझाव

    नेता वामदेवले मंगलबार ६ बुँदे सुझाव पेश गरेपनि यो कसरी आयो भन्ने कुरा बाहिरिएको छैन । पछिल्लो समय ओली समर्थकहरु वामदेवलाई मनाउन भन्दै निरन्तर उनीसँग सम्पर्क गरिरहेका छन् ।

    विशेषगरी वामदेव निवास नजिकै रहेका नेकपा महासचिव विष्णु पौडेलसँग उनको बाक्लो भेट भएको स्रोतले दावी गरेको छ ।

    वामदेवलाई जारी विवाद मिलाउन भन्दै आग्रह गरेको र अहिले आफूलाई हटिहाल्नका लागि दबाब नदिन पौडेल मार्फत सन्देश पठाएपछि वामदेवले अन्तत: यसलाई स्वीकारेको स्रोतको भनाइ छ ।

    तर वामदेव ओलीको कित्तामा गएको मान्न भने ती स्रोत तयार छैनन् । अहिलेका लागि मात्र विवाद मत्थर बनाउन र आगामी मंसिरपछि पार्टीको नेतृत्व छोड्ने शर्तमा मात्रै वामदेव मानेको बुझिएको छ ।

    तर अहिले वामदेवले ओलीसँग बार्गेनिङ गरेर पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूह छाडेको आरोप लागिरहेको छ । तर यो बारेमा छिट्टै नै सबै कुरा बाहिर आएने वामदेव निकटस्थ स्रोतले दावी गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार