चितवन । यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले) बीच प्रतिस्पर्धा भयो । केही पालिकामा एमालेले राप्रपालगायतका साना दलसँग तालमेल गरेपनि मतपरिणाम एमालेको लागि सुखद भएन ।
चितवनका दुई पालिकाको प्रमुख र उपप्रमुखमा एमालेले राप्रपासँग तालमेल गरेको थियो । तालमेल गर्दा पनि भरतपुर महानगरपालिकामा एमाले भारी मतान्तरले पराजित भयो ।
सत्तारुढ दलको केन्द्रीय निर्देशनअनुसार जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी)लगायत पाँच दलबीच गठबन्धन भएको थियो ।
एमाले र राप्रपाबीचको तालमेल भने प्रभावकारी देखिएन । यद्यपि, जिल्लाको समग्र चुनावी नतिजालाई विश्लेषण गर्दा पाँच दलीय गठबन्धनका दललाई एमाले एक्लै भारी परेको देखिन्छ ।
जिल्ला समन्वय समिति (जिसस)को प्रमुख र उपप्रमुख जित्न चाहिने मत गठबन्धन र एमाले दुवै पक्षलाई पुग्दैन । जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्षले भोट हाल्छन् । एमाले र गठबन्धनसँग समान सात भोट छ । जिससको निर्वाचनमा गोलाप्रथा हुने पक्का भएको छ ।
वडा सदस्यसहितको पदमा निर्वाचित जनप्रतिनिधिको संख्या हेर्ने हो भने एमाले अहिले पनि पहिलो शक्तिका रुपमा देखिन्छ । जिल्लाको सात पालिकाका ९८ वडामा ५०४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । तीमध्ये २४२ जना एमालेले उमेदवार उठाएका जनप्रतिनिधि हुन् ।
कांग्रेसले उठाएका २०३ जना उमेदवार निर्वाचित भए भने माओवादी केन्द्रका ३६, राप्रपाका ११, समाजवादीका नौ र स्वतन्त्र उठेका तीन उमेदवार निर्वाचित भएका हुन् ।
दलगत रुपमा हेर्दा एमाले एक्लैले धेरै पालिका प्रमुखरअध्यक्ष र उपप्रमुख-उपाध्यक्ष जितेको छ । वडा अध्यक्ष भने धेरै गुमाएको छ ।
अघिल्लो पटक चार प्रमुख र पाँच उपप्रमुख जितेको एमालेले अहिले तीन प्रमुखरअध्यक्ष र चार उपप्रमुखरउपाध्यक्ष जितेको छ । ५७ वडा जितेकोमा अहिले ३६ वडामा चित्त बुझाउनु परेको छ ।
एमालेले माडी नगरपालिका प्रमुख, कालिका नगरपालिका प्रमुख र उपप्रमुख, इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, खैरहनी नगरपालिका उपप्रमुख र रत्ननगर नगरपालिका उपप्रमुख जितेको हो ।
भरतपुरका ६, रत्ननगरका पाँच, खैरहनीका सात, राप्तीका आठ, कालिकाका चार, इच्छाकामनाका पाँच र माडीको एक गरी ३६ वडा जितेको छ ।
कांग्रेसले अघिल्लो चुनावमा एक पालिका अध्यक्ष, दुई उपप्रमुख-उपाध्यक्ष र ३५ वडा जितेको थियो । गठबन्धन गरेपछि यस पटक दुई प्रमुख, तीन उपप्रमुख र ४० वडा जितेको छ । गठबन्धनबाट धेरै फाइदा लिने दलमा कांग्रेस पहिलो नम्बरमा पर्दछ ।
खैरहनी र रत्ननगरको प्रमुख र भरतपुर, राप्ती र माडीको उपप्रमुख कांग्रेसले जितेको हो । कांग्रेसले भरतपुरको १६, रत्ननगरको नौ, खैरहनीको छ, राप्तीको तीन, कालिकाको पाँच र इच्छाकानाको एउटा वडा जितेको छ ।
अघिल्लो पटक दुई प्रमुख जितेको माओवादी केन्द्रले गठबन्धनको सहारामा भरतपुरको एउटा प्रमुख मात्र जित्न सफल भयो । माडीमा एमालेले राप्रपासँग तालमेल गर्दै लोकप्रिय नेता उठाउँदा पार्टीभित्रै अन्तरघात भएपछि माओवादीले प्रमुख पद जित्न सकेन ।
माओवादीले पाएको कालिका, खैरहनी उपप्रमुख र इच्छाकामना उपाध्यक्ष पनि जित्न सकेन । अघिल्लो पटक छ वडा जितेकोमा यस पटक भने ११ वडा जित्न सफल भएको छ ।
माओवादीले भरतपुरको तीन वडा जितेको छ । गठबन्धनकै सहारामा यस पटक माओवादी केन्द्र पूर्वी चितवनका पालिकामा पसेको छ ।
अघिल्लो निर्वाचनमा एउटा वडा सदस्य पनि नजितेको माओवादीले यस पटक कालिकाका दुई र रत्ननगरको एक वडा जितेको छ । रत्ननगर, कालिका र राप्तीको गरी आठ वडा सदस्य जितेको छ ।
एमाले विभाजनपछि बनेको एकिकृत समाजवादीले गठबन्धनबाट राम्रो फाइदा लिएको छ । समाजवादीले राप्तीको प्रमुख जित्न सफल भयो भने भरतपुर, माडी र राप्तीका गरि छ वडा पनि आफ्नो पक्षमा पार्यो । एमाले र कांग्रेसबाट बागी उमेदवारी दिएका तीन जनाले यस वडा अध्यक्ष पद जित्न सफल भएका छन् ।
यस पटक राप्रपाले माडीमा आफ्नो शक्ति बढाएको छ । आन्तरिक रुपमा संगठनलाई बलियो बनाउँदै लगेको राप्रपाले यस पटक माडीका दुई वडा र पाँच सदस्य जित्यो । अघिल्लो पटक राप्रपाले जिल्ला भरका एउटा वडा पनि जित्न सकेको थिएन ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको...
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend