Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुरमा रेणुको फराकिलो अग्रता, अघिल्लो पटक मतपत्र च्यातिएको वडामा एमाले विजयी


    आइतबार, जेष्ठ ८ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना गरेर सकिएको छ । अहिले २० र २१ को गणना भइरहेको छ । भरतपुर महानगरमा २९ वडा छन् । १९ वडाको मतगणना सकिँदा मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले ३६ हजार ७९७ मत ल्याएकी छन् । 

    पाँच दलीय गठबन्धनकोतर्फबाट उमेदवार बनेकी रेणु दाहाल मेयरका अर्का उमेदवार एमालेका विजय सुवेदी भन्दा ७ हजार ९७६ मतान्तरले अगाडि छन् । सुवेदीले २८ हजार ८२१ मत प्राप्त गरेका छन् । दाहालले लगातार आफ्नो अग्रता बढाउँदै लगेकी छन् ।

    २०७४ सालको निर्वाचनमा मतगणनाका क्रममा मत च्यातिएको वडा नं‍. १९ को अध्यक्षमा एमालेका प्रकाश तामाङ निर्वाचित भएका छन् ।

    कांग्रेसको पकड क्षेत्रका रुपमा लिइने यस वडामा तामाङले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका द्रोणबहादुर गुरुङलाई पराजित गरेका हुन् । वडामा तीन हजार ४८८ मत खसेको थियो ।

    २०७४ को निर्वाचनमा वडा नं. १९ को मतगणनाका क्रममा माओवादीका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानले मतपत्र च्यातेपछि यस वडामा पुनः मतदान भएको थियो । मतपत्र च्यात्ने सिवाकोटी र न्यौपानेलाई अदालतले जनही एक/एक लाख जरिवाना तिराएको थियो ।

    पुनः मतदान भएपछि यस वडामा कांग्रेसका कर्णबहादुर गुरुङसँग ३८१ मतान्तरले पराजित भएका प्रकाश तामाङ अहिले गठबन्धनका साझा उम्मेदवारसँग एक्लै प्रतिस्पर्धा गरेर विजयी भएका हुन् । वडा सदस्यहरुमा तीन जना एमाले र एक जना कांग्रेसबाट निर्वाचित भएका छन् ।

    भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९३ हजार ७३२ मत गनेर सकिएको छ । अब ३४ हजार १०७ मत गन्न बाँकी छ । हालसम्म कांग्रेसले ११, एमालेले पाँच, एकिकृत समाजवादीले दुई र माओवादी केन्द्रले एक वडा जितेका छन् ।      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार