Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • मुग्लिन–नौबिसेमा सडकखण्डको २ सय स्थानमा पहिरो, काठमाडौं छिर्ने गाडीहरु अलपत्र


    मंगलबार, साउन ६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।

    सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने,‘मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २ सय भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।’

    मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने बताइएको छ । 

    स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले बताए । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने जनाए ।उनले भने, ‘पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ ।’

    अन्य खुला रहेका सडक प्रयोग गर्न उनले सुझाव दिए । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ ।यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन सुरू गरिनेछ ।

    काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले जानकारी दिए । सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उनको भनाइ छ ।

    मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उनले बताएका छन् । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार