काठमाडौं । व्यापारिक घराना ज्योति ग्रुपभित्रको विवाद झन्झन् बढ्दै गएको छ । ज्योति ग्रुपका दुई दाजुभाई पद्मज्योति र रुपज्योतिको पुस्तामा नभएर छोराहरुका कारण उत्पन्न भएको विवाद थप जटिल बन्दै गएको छ । यसले ज्योति ग्रुप एकै घरानाका रुपमा नरहने संकेतहरु देखिन थालेका छन् ।
भारतमा धीरुभाई अम्बानीले कहिल्यै सोचेका थिएनन्, आफ्नो अवसानपछि आफूले खडा गरेको व्यापारिक साम्राज्यमा धाँजा पर्छ भनेर । तर उनको अवसानपछि उनका दुई छोराहरु मुकेश र अनिलले उनको बिरासत भागबण्डा गरेरै छाडे । त्यस्तै नेपालको पुरानो व्यापारिक घराना ज्योति ग्रुप पनि विभाजनको तहमा पुगेको छ । स्व. मणिहर्ष ज्योतिले १ सय बर्षअघि खडा गरेको ज्योति ग्रुपको ब्यापारिक साम्राज्य तीन पुस्ता पनि एकै घरानाका रुपमा रहन नसक्ने संकेत देखिएका छन् । पद्मज्योतिका कान्छा छोरा सुहृद ज्योति नै विवादको केन्द्रबिन्दुमा देखिएका छन् । काका रुप ज्योतिलाई थाहा नै नदिई भतिज सुहृदले भाजुरत्न कम्पनी दर्ता गरेपछि विवादको सुरुवात भएको हो ।
भाजुरत्न इन्जीनियरिङ प्रालिले फारगुसन ब्राण्डको ट्रयाक्टरको डिलरसीप लिएर देशभर किसानलाई बिक्री गर्दैआएको थियो । तर सुहृद ज्योतिले काका रुपज्योतिलाई पत्तै नदिई भाजुरत्न कम्पनी दर्ता गरे । र, भाजुरत्न इन्जीनियरिङको सम्पूर्ण दायित्व छाडेर उनले नयाँ कम्पनीमा एजेन्सी पनि सारे । उठाउनुपर्ने करिब ५५ करोड रुपैया“ समेत नउठाई कर्मचारीसमेत सबै भाजुरत्न कम्पनी अन्तर्गत रहने व्यवस्था गरे । कम्प्युटरमा रहेको भाजुरत्न इन्जीनियरिङको कारोबार दाया“बाया“ गरी दायित्वजति सबै छाडेर सम्पत्ति जति सबै हड्प्ने काम गरेको आरोप सुहृदमाथि छ ।
भाजुरत्न इन्जीनियरिङको नाममा रहेका करिब २० करोडका ट्रयाक्टर कम्प्युटरबाटै १३ करोडको मौज्दात देखाई हडपे । भाजुरत्न इन्जीनियरिङले किस्तामा विक्री गरेका ट्रयाक्टरबाट उठ्नुपर्ने रकम करिब ५५ करोड रहेको छ । त्यो रकम उठाउने भाजुरत्न इन्जीनियरिङका देशभरका सबै शाखाका कर्मचारी पनि सुहृदले नयाँ कम्पनीमा सारे । कर्मचारी नै नरहेपछि ग्राहकबाट किस्ता उठाउने अवस्थासमेत छैन । भाजुरत्न इन्जीनियरिङ प्रालिको नाममा बैंकको ऋण १ अर्बभन्दा बढी रहेको छ । किस्ता उठाउने कर्मचारीसमेत नभएकाले बैंकको ऋण समेत तिर्न नसक्ने अवस्था भतिजाहरुले उत्पन्न गराएपछि काका रुपज्योति बिलखबन्दमा परेका छन् । यति हदसम्म भतिजाहरु गिर्लान् भन्ने अनुमान रुपज्योतिले लगाउन समेत सकेका थिएनन् । तर उनीहरु यति तल्लो स्तरमा उत्रिएपछि उनी चिन्तामा परेका छन् ।
यी सबै दायित्व छाडेर नया“ कम्पनी खोलेर ट्रयाक्टरदेखि कर्मचारी र एजेन्सीसमेत हडपेपछि काका रुपज्योतिले न्यायका लागि प्रहरीलाई गुहारेका छन् । प्रहरीले अदालत र कम्पनी रजिस्टार कार्यालयमा नै गएर मिलाउन भन्दै आएको छ । २० करोडको ट्रयाक्टर १३ करोडको अन्डरबिलिङ गर्दा भाजुरत्न इन्जीनियरिङ करको लफडामा समेत पर्ने भएको छ ।
कहिल्यै करको विवादमा नपरेका र विपश्यना ध्यान गर्ने रुपज्योतिले २० करोड ट्रयाक्टर किन १३ करोडमा अन्डरबिलिङ गरेको भनेर सोधीखोजी गर्दा भतिज सुहृदले उनलाई दपेट्ने काम गरेपछि ज्योति गु्रपको विवाद प्रहरीमा पुगेको छ । एकातिर अनाहकमा करको विवादमा पर्ने र अर्काेतिर उठ्नुपर्ने ५५ करोडसमेत नउठ्ने परिस्थिति भतिजा सुहृदले खडा गरेपछि बाध्य भएर रुपज्योति न्यायका लागि भौंतारिरहेका छन् । ट्रयाक्टरको डिलरसीप खोसेको र बैंकको ऋणसमेत भाजुरत्न इन्जीनियरिङकै नाममा भएपछि रुपज्योतिका सामु न्यायका लागि सम्बन्धित निकायमा धाउनुको विकल्प नभएको बताइन्छ ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिका छोरा सौरभ ज्योति नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्षमा चुनाव पनि लड्दैछन् । उनले पर्साको परवानीपुरमा रहेको ५ बिघा जमिन यसअघि नै लालकाजी गुरुङकी छोरीका नाममा कौडीको मूल्यमा विक्री गरी काकालाई धोका दिइसकेको आरोप लागेको छ । काका रुपज्योतिको कीर्ते हस्ताक्षरका आधारमा उक्त जग्गा विक्री गरिएको आरोप शौरभ ज्योतिले खेप्दै आएका छन् । सोमबारको साँघु साप्ताहिकमा उल्लेख छ ।
तस्वीरः माथिबाट क्रमशः पदमज्योति, रुपज्योति, सौरभज्योति र सुहृद ज्योति