काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले भलिबल खेलाडी प्रतिभा मालीलाई उपचारका लागि रु दुई लाख सहयोग गरेको छ । लामो समयदेखि चोटील बनेकी मालीलाई सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, पूर्वअध्यक्ष दीपक विष्ट र १३औँ सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले आज सहयोग हस्तान्तरण गरेका हुन् ।
नेपाल भलिबल सङ्घले आयोजना गरेको पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक एनभीए कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा माली गत वर्ष माघ १० गते घाइते हुनुभएको थियो । उहाँको घुँडामा चोट लागेको थियो । प्रतिभा घुँडाको शल्यक्रियापछि थेरापी गर्दै आउनुभएको छ । चोटकै कारण उहाँले प्रतियोगितामा भाग लिन सक्नुभएन । आर्थिक अभाव भएपछि सङ्घले आफ्नो खेलाडी अक्षय कोषबाट सो सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसअघि प्रतिभालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपचारका लागि रु पाँच लाख तथा नेपाल भलिबल सङ्घका पदाधिकारीले रु दुई लाख सहयोग गरेका थिए । प्रतिभाकै उत्कृष्ट खेल प्रदर्शनकै कारण नेपालले बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक तथा गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग)मा रजत पदक प्राप्त गरेको थियो । रासस