Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना विरुद्धको चिनियाँ खोपको अन्तिम परीक्षण हुँदै


    सोमबार, साउन ५ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) का कारण अहिलेसम्म ६ लाख ८ हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ । यस्तै १ करोड ४६ लाख ४६ हजार ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

    संक्रमण बढेसँगै कोभिड-१९ विरुद्धको खोपको खोजी र परीक्षण पनि तीव्र गतिमा भैरहेको छ । विश्वभर यसको खोज भैरहेपनि चिनियाँ कम्पनीले निर्माण गरेको खोपले भने अद्भुद सफलता पाएको छ । अहिलेसम्म चिनियाँ खोपको दुई चरणको परीक्षण सफल भैसकेको छ । खोपको तेस्रो परीक्षणको तयारी भैरहेको बताइएको छ।

    चिनियाँ खोपको तेस्रो मानवीय परीक्षण भने बंगलादेशमा हुने भएको छ । यसका लागि बंगलादेशको मेडिकल रिसर्च काउन्सिलले स्वीकृति समेत दिइसकेको छ । 

    सो खोप चिनियाँ कम्पनी सिनोभाक बायोटेकले बनाएको हो । बंगलादेशको इन्टरनेशनल सेन्टर फर डायरियल डिजिज रिसर्चले खोपको तेस्रो चरणको अनुसन्धानको मस्यौदा पेश गरेको र बंगलादेशको मेडिकल काउन्सिलले स्वीकृति समेत दिएको काउन्सिलका निर्देशक महमुद उजजहानले जानकारी दिए । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले पनि यसमा स्वीकृति दिएपछि सबै कानुनी प्रक्रिया पूरा हुनेछ । 

    सो खोपको परीक्षणमा बंगलादेशको समेत फाइदा हेरिएको र चीनमा दुई चरण सफल भइसकेकाले पनि तेस्रो चरणको परीक्षणका स्वीकृति दिइएको बताइएको छ। 

    बंगलादेशमा खोपको परीक्षण गर्ने सहमति भैसकेको तर अन्तिम सम्झौता हुन बाँकी रहेको समेत बताइएको छ । 

    सबै प्रक्रिया पूरा भएपछि यो खोप ब‌ंगलादेशको सुविधा सम्पन्न सात अस्पतालमा परीक्षण गरिने तयारी रहेको छ । खोपको प्रभावकारिता जाँच गर्नका लागि २ हजार १ सय जनामा यो खोप परीक्षण हुनेछ । 

    सिनोभाकले गत महिना यो खोपको अन्तिम परीक्षण आगामी नाेभेम्बरसम्ममा सम्पन्न गर्ने दावी गरेको थियो । अहिलेसम्म गरिएको मानवीय परीक्षणमा यो खोप प्रभावकारी देखिएको र कुनै किसिमको हानी नभएको समेत सिनोभाकले जनाएको छ । 

    अहिलेसम्म विश्वभर करिब एक दर्जन खोप मानवमा परीक्षण भइसकेको छ । यी खोपहरुमध्ये अहिलेसम्म कुनैले पनि तेस्रो चरणसम्मको परीक्षण पूरा गरेको छैन । जुनसुकै खोप पनि मानवमा प्रयोगको लागि अनुमति पाउनका लागि तीन चरणमा परीक्षण गर्नुपर्ने प्रावधान रहेको छ। 

    अमेरिका र यूरोपका नियामक निकायले भने आपतकालिन अवस्थामा खोपको अन्तिम परीक्षण अघि नै पनि अन्तरिम रुपमा प्रयोग गर्न सकिने बताइरहेका छन् । (एजेन्सीको सहयोगमा)

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार