काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेल आइजीपी बढुवाका बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न गएका छन् । तर अर्का एआइजी सहकुलबहादुर थापाले भने अदालतमा रिट दर्ता नगर्ने भएका छन् । उनी बैशाख ३० मा हुन लागेको स्थानीय तहको चुनावी कमाण्ड सम्हाल्न तयार भएका छन् ।
डीआइजी र एआइजीमा शक्तिकेन्द्रमा पहुँच पुर्याएर बढुवा भए पनि आइजीपी नियुक्त हुन नसकेपछि अदालतमा रिट दर्ता गरेका पोखरेललाई थापाले साथ नदिने भएका छन् । सोमबार दर्ता गरिएको पोखरेलको रिटको सुनुवाई बुधबार हुने भएको छ ।
प्रहरी महानिरीक्षकमा आफू नै ज्येष्ठता, कार्यक्षमतामा अब्बल भएकाले मुद्दा टुंगो नलागेसम्म कामु आइजीपीको जिम्मेवारी आफूलाई दिनुपर्ने माग पोखरेलको रिटमा गरिएको छ ।
पोखरेलसँगै थापा पनि प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि प्रकट गर्दै बिदामा बसेका थिए । तर गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेसँग भेटेपछि एआइजी थापा बुधबारदेखि नियमित ड्युटीमा फर्कने भएका छन् । उनले गृहमन्त्री खाँण र सचिव पाण्डेसँग सोमबार साँझ भेटेका थिए ।
थापा प्रहरीको कार्यविभाग प्रमुख हुन् । कार्य विभाग प्रमुखले नै निर्वाचन हेर्ने प्रम्ुख हुन्छ । थापा धिरजप्रताप सिंह भन्दा १० महिना अघि एआइजी बढुवा भएका थिए ।