Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • स्थानीय निर्वाचनः महिला उम्मेदवार बनाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौं


    शनिबार, बैशाख १७ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।

    देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको केपी शर्मा ओली नेतृत्वको एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएर पहिलो राजनीति दल भएको हो ।

    ३० वैशाखमा हुने निर्वाचनका लागि एमालेले २ सय ६० जनालाई नगरपालिका उपप्रमुख तथा ४ सय १० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख छ । 

    यसैगरी, निर्वाचन आयोगका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले १८ जना महिलालाई नगर प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ । 

    माओवादी केन्द्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४ सय १७ स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको छ  । 

    राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले २ सय २७ स्थानीय तहमा प्रमुखका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

    सोही पार्टीले गाउँपालिका अध्यक्षमा ४२ जना महिलालाई स्थान दिएको छ । राप्रपा महिला उम्मेदवार बढी बनाउनेमा तेस्रो ठूलो राजनीतिक शक्ति भएको छ । 

    उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) ले १ सय २८ जना प्रमुखमा उम्मेदवारी दिँदा २३ जना महिलालाई उम्मेदवार बनाएको छ ।

    १ सय ७५ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिदाँ १२ जना महिला उम्मेदवार उठाएर चुनावी मैदानमा उत्रेको छ ।

    नेकपा (एस)ले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवारी दिलाएको हो ।

    सरकारको नेतृत्वकर्ता राजनीतिक दल नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको प्रमुख तथा गाउँपालिका अध्यक्षका लागि टिकट वितरण गरेको छ, जुन एमालेको भन्दा ३६ जना कम हो ।

    महिलालाई उम्मेदवार बनाउने दलमा कांग्रेस चौँथौ स्थानमा सीमित हुन पुगेको छ ।

    कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ । 

    मधेस केन्द्रित दल महिलाप्रति अनुदार

    उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महिला उम्मेदवारलाई प्राथमिकता दिन अनुदार देखिएका छन् । 

    माओवादी केन्द्र झैँ निरन्तर समावेशी र समानुपातिक प्रतिनिधित्वको माग राख्दै आन्दोलनरत राजनीतिक दल जसपा र लोसपा नेपाल पनि महिला उम्मेदवार छनौटमा अनुदार देखिएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।

    जसपाले १ सय ४६ नगरपालिकामा पुरुषलाई मेयरमा उम्मेदवारी दर्ता गराउँदा १५ जना महिलालाई मात्र उम्मेदवार बनाउने छ । 

    १ सय ८० जनालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउँदा महिला भने १० जना मात्रै उम्मेदवार बनेका छन् । 

    ठाकुर नेतृत्वको लोसपा नेपालले ८९ जना प्रमुखका लागि पुरुष उम्मेदवार उठाउँदा ५ जना महिलाले मात्र प्रमुखमा उम्मेदवार बन्न अवसर पाएका छन् ।

    प्रमुखका लागि उम्मेदवारी दर्ता गराउन सफल भएका छन् भने ९४ जना गाउँपालिकाका अध्यक्षमा पुरुषले प्रतिस्पर्धा गरिरहँदा सो पार्टीबाट ३ जना महिला मात्रै अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिन सफल भएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार