बीरगंज । नेकपा (एमाले)ले स्थानीय तहमा आफ्ना उम्मेदवारहरुलाई जिताउन घरदैलो अभियानलाई तिव्रता दिएको छ । यसैक्रममा छिपहरमाई गाउँपालिका वडा नं ४ बंजारीमा बिहीबार घरदैलो कार्यक्रम सम्पन गरेको छ ।
गाउँपालिकाको वडा नं ४ बंजारीमा गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सदस्यका उम्मेदवार तथा पार्टी कार्यकर्तासहितको टोलीले घरदैलो कार्यक्रम गरी मत मागेका छन् ।
घरदैलो कार्यक्रममा स्थानीयले एमालेका उम्मेदवारलाई बधाई र शुभकामना दिएका थिए । गाउँपालिका प्रमुखका उम्मेदवार मनोज गुप्ताले आफूले यसअघिको चुनाव जितेर ५ वर्षमा शिक्षा ,स्वास्थ्यदेखि हरेक क्षेत्रमा काम गरेको र फेरि पनि स्थानीय आवश्यकता अनुसार स्थानीयको भावना अनुरुप आफूले काम गर्ने बताए । जनताको सेवकको रुपमा आफूले काम गर्ने बताउँदै हरेक क्षेत्रको समस्या समाधान गर्नका लागि सहयोग गर्ने बताए ।
घरदैलो कार्यक्रममा स्थानीय नागरिकसँग भेटघाटका साथै स्थानीयहरुको सुझाव समेत संकलन गरिएको एमालेका युवानेता सुबास साहले जानकारी दिए । बिहीबार भएको गाउँपालिकाको वडा नं ४ बंजारीको घरदैलो कार्यक्रममा एमाले छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष प्रह्लाद गुप्ताले गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि एमालेलाई मत दिन आग्रह गरेका छन् ।