काठमाडौं । कोभिड–१९ संक्रमण देखिएका नेपाल एयरलाइन्सका १४ उडान कर्मचारी संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका ४ पाइलटसहित १४ जना क्याबिन क्रु मेम्बर उपचारपछि घर फर्किएका हुन् ।
उनीहरू गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत २२ असारमा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो ।
करिब २ सातापछि उनीहरूको पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताइन् ।
कोरोना संक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २ दिन र ह्याम्स अस्पतालमा ६ दिन राखिएको थियो ।
देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले हार्दिक आभार व्यक्त पनि गरेको छ । रासस