गुल्मी । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएको छ । गुल्मीका स्थानीय तहका लागि पनि राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
गुल्मीको रुरु गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीको गठबन्धनबाट यदु ज्ञवालीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । एमालेले हिमाल श्रेष्ठलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ । स्थानीय निर्वाचनमा ज्ञवाली र श्रेष्ठबीच नै प्रतिस्पर्धा देखिन्छ । श्रेष्ठले केन्द्रका नेताहरुसँगको पहुँचका आधारमा अध्यक्षको टिकट लिएपछि एमालेमा असन्तुष्टि छाएको छ ।
रुरु गाउँपालिकाको केन्द्र घिउबेसी तोक्दा कालोदिवस भन्दै बिरोध गरेकाले हिमाल श्रेष्ठप्रति रुरुका बहुसंख्यक जनसमुदाय रुष्ट छन् भन्ने हेक्का नराखी एमालेले अध्यक्षमा खडा गरेकोमा एमालेका स्थानीय नेता कार्यकर्ता नै खुलेर उनको प्रचारमा लाग्न सकेका छैनन् । घिउबेसीलाई केन्द्र तोक्दा कालोपट्टि बाँधेर बिरोध गरेको रुरुबासीले सम्झिरहेकाले पनि उनका लागि अध्यक्ष जित्न कठिन देखिएको छ ।
कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका यदु ज्ञवालीले भने कोरोना संक्रमणका समयमा दिनरात नागरिकको उपचारदेखि उद्दारमा खटिएकाले उनी रुरुबासीबीच लोकप्रिय मानिन्छन् । कोरोना संक्रमणको बेला देश विदेशबाट राहत संकलन र बितरणमा उनको सक्रियताका कारण पनि उनीप्रति रुरुबासीले भरोसा गरेकाले उनको पल्लाभारी देखिएको छ ।
ज्ञवाली नेकपा माओवादी केन्द्र रुरु क्षेत्र गाउँपालिका अध्यक्ष हुन् । श्रेष्ठ पनि रुरु क्षेत्र एमालेका इन्चार्ज हुन् ।