काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को कारण विश्व अर्थतन्त्र नै सुस्ताएको छ । यसको सिधा असर नेपालको रेमिट्यान्समा समेत परेको छ।
आर्थिक वर्ष ०७६/७७ को ११ महिना अर्थात् साउन देखि जेठसम्मको अवधिमा रेमिट्यान्सको आप्रवाहमा तीन प्रतिशतले कम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा कुल ७ खर्ब ७४ अर्ब ८७ करोड मात्र रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ। अघिल्लो वर्षको सोही अवधिमा भने रेमिट्यान्स १७.५ प्रतिशतले बढेको बताइएको छ ।
यस्तै अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ५.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो।
यस्तै वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १२.४ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या समेत ३१.१ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो। यो अवधिमा खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमी आई आठ खर्ब ७२ अर्ब ७८ करोड रूपैयाँ कायम भएको छ।
यस्तै, आर्थिक वर्ष ०७६/७७ को ११ महिनामा वस्तु व्यापार घाटामा १६.४ प्रतिशतले संकुचन आउँदा कुल व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रूपैयाँ कायम भएको छ।
गत वर्षको सोही अवधिमा यस्तो घाटा १७.२ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.० प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो।