रुपन्देही। स्रोत नखुलेकाे ठूलो रकमसहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र राजस्व अनुसन्धानको टोलीले मंगलबार उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगरबाट पक्राउ गरेकाे हो ।
पक्राउ पर्नेहरुमा सिद्धार्थनगर–२ बस्ने ३८ वर्षीय सुनिल सुनार र ३७ वर्षीय अमित परियार छन् ।सुनारले चलाएको प्रदेश नं ३, ०३–०१–०२३–च ३२०९ नम्बरको कारमा ७३ लाख ५५ हजार फेला परेको थियो । उनले सो रकमको स्रोत खुलाउन सकेनन् ।
थप अनुसन्धान गर्ने क्रममा सुनारको घरबाट थप १२ लाख ६६ हजार बरामद भएको थियो । यस्तै उनको पसल सोनु ज्वेलर्स गल्लामण्डीबाट समेत स्रोत नखुलेको १२ लाख ८१ हजार ५ सय बरामद भएको प्रहरीले जनाएको छ ।
सुनिललाई गाडीबाट र अमितलाई पसलबाट पक्राउ गरिएको हो। परियार उक्त पसलको कामदार रहेको बताइएको छ।
पक्राउ परेकाहरुलाई बरामद रकमसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा लगिएकोमा त्यहाँबाट ईलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको प्रहरीले जनाएको छ।