Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षकलाई जेलमै तलब, अख्तियारले हाल्याे मुद्दा


    मंगलबार, असार ३० २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई विद्यालयले जेलमै तलब खुवाएको खुलेको छ। एउटै घटनामा दोषी ठहर भएर जेल सजाए पाएका छुट्टाछुट्टै विद्यालयका शिक्षकलाई जेलमै तलब खुवाइएको हो।

    जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारीले जेलबाटै तलब बुझेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक भण्डारीले ८३ हजार १ सय लिएको जनाइएको छ।

    आयोगले सरकारी रकम असुलउपर गरी पाउन भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी र अध्यक्ष टेकसिंह भण्डारीबाट बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ।

    यस्तै कर्तव्य जयनमा नै जेल परेका दोगडाकेदारमै रहेको जशलिंग प्राविका तत्कालीन शिक्षक महानन्द कपाडीलाई पनि नियम विपरीत तलब खुवाएको पाइएको अख्यितारले जनाएको छ। अख्तियारले गरेको छानबिनमा कपाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरि नाथको सहमतिमा ८१ हजार ९०० तलब खुवाएको पाइएको छ।

    सरकारी रकमको दुरुपयोग गरेको भन्दै अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्रोतव्यक्ति र विद्यालयका तत्कालिन शिक्षकबाट सो रकम असुलउपर गर्न विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

    दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका शिक्षक कपाडी र दोगडाकेदार–४ का शिक्षक भण्डारी कर्तव्य ज्यान मुद्दामा १५ असार २०७४ मा जेल परेका थिए। दुई वर्ष कैद र ८२ हजार जरिवानाको सजाय भएका दुवै जना १५ जेठ २०७५ मा गणतन्त्र दिवसको अवसरमा जेल मुक्त भएका छन्।

    उनीहरु ६४ प्रतिशत कैद भुक्तान गरेपछि २०७५ सालमा गणतन्त्र दिवसको अवसरमा छुटेका थिए। उनीहरु दुवै दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकै अर्जुनसिंह विष्टको हत्यामा संलग्न थिए। (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार