विष्णु नेपाल, गोकर्णमणि दुवाडी र मानबहादुर विक
काठमाडौं । सरकारले फेरि बरिष्ठ सहसचिव गोकर्णमणि दुवाडीमाथि अन्याय गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले पनि बरिष्ठ सहसचिव दुवाडीलाई सचिवमा बढुवा गरेन । सोमबारको मन्त्रिपरिषदले रिक्त सचिवमा मानबहादुर विकलाई बढुवा गरेको छ । दुवाडीलाई यसअघि नै बढुवा गर्नुपर्नेमा विष्णुप्रसाद नेपाललाई सचिवमा बढुवा गरिएको थियो । सहसचिव दुवाडी एक नम्बरमा सिफारिस भए पनि बढुवा गर्दा दोस्रो र तेस्रो नम्बरका सहसचिवलाई गरिएको छ ।
बरिष्ठ सहसचिव दुवाडीलाई बढुवा नगरी दोस्रो बरियताका नेपाल र तेस्रो विक बढुवा भएका छन् । तीन सचिव पद रिक्त भएकोमा दुई जना बढुवा गरिएको छ । अझै एक सचिव पद रिक्त छ । त्यो रिक्त पदमा पनि मधु मरासिनीलाई बढुवा गर्ने तयारीमा मुख्यसचिव रेग्मी छन् । कर्मचारीतन्त्रको नेतृत्व गर्ने मुख्यसचिव लोकदर्शन रेग्मीले बरिष्ठ सहसचिवमाथि बढुवामा अन्याय गरेका छन् ।
दुवाडी भूमिब्यवस्था तथा अभिलेख विभागको महानिर्देशक हुँदा अर्थमन्त्री डा.युवराज खतिवडाले एक राजपत्रअनंकित कर्मचारी सरुवा गर्नका लागि दिएको निर्देशन अटेर गरेको आरोपमा उनको बढुवा रोकिएको स्रोत बताउँछ ।
कतिपयले भने भूमि ब्यवस्थापन विभागको महानिर्देशक हुँदा मनोज पाण्डेलाई २० लाखको डकुमेन्ट्रीको काम नदिएबापत बढुवा नगरी कोपभाजनमा पारिएको पनि भन्ने गरेका छन् । मनोज पाण्डे नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाउँथे । जुन कार्यक्रमको ब्यापक आलोचनापछि गतबर्षबाट बन्द भएको छ ।