Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोटाङमा कोरोना संक्रमण ग्राफ दिनानुदिन बढ्दै, एकै दिन थपिए ३४ संक्रमित


    मंगलबार, माघ ११ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ । खोटाङमा कोभिड–१९ को संक्रमण ग्राफ दिनानुदिन उकालो लागिरहेको छ । मंगलबार थप जनाको गरिएको एन्टीजेन परीक्षण गर्दा थप ३४ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । यससँगै जिल्लामा कोभिड–१९ को तेस्रो लहरमा संक्रमित हुनेको संख्या १४७ पुगेको छ । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकामा मात्र मंगलबार ५७ जनाको एन्टीजेन परीक्षण गर्दा २८ जनालाई संक्रमण देखिएको हो । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकामा मात्र हालसम्म सक्रिय संक्रमितको संख्या एक सय पुगेको छ । हालसम्म तीन जनाले कोरोना संक्रमण जितेको नगरपालिकाले जनाएको छ । 

    स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६१२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । 

    कोभिड महामारीको सुरुवातदेखि हालसम्ममा जिल्लामा कुल संक्रमितको संख्या ३ हजार २०९ पुग्दा ३ हजार ४४ निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए । 

    जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ । यस्तै, १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । 

    संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार