Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा


    आइतबार, माघ ९ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

    पोखरा रंगशालामा आइतबार भएको खेलमा मनाङलाई जिताउन रुपेश केसी र विदेशी खेलाडी आफिज ओलावाले १–१ गोल गरे । 

    प्रतियोगितामा सिँधै क्वाटरफाइनल खेलेको मनाङको लागि खेलको ६४औँ मिनेटमा रुपेश केसीले अग्रता बनाए । पुलिसका अजित भण्डारीले नियन्त्रणमा लिन नसकेको बललाई आफिजले मिलाएपछि बक्सभित्रबाट रुपेशले आकर्षक गोल गरे । 

    खेल सकिन दुई मिनेट बाँकी रहँदा आफिजले मनाङलाई सहज जिततर्फ बढाए । मैदानको मध्यभागबाट बल बढाउँदै आफिजले पुलिसका भोलानाथ सिलवाल र अजितलाई बिट गर्दै सहज गोल गरे । 

    पहिलो हाफमा दुबै टोलीले कुनै पनि त्यस्ता गोलका अवसर बनाउन सकेनन् । दोस्रो हाफमा पुलिसका जुमनु राईले पाएको अवसर सदुपयोग गर्न सकेनन् भने मनाङका आफिज ओलावाले र अशोक थापा मगरले पाएका अवसर गुमाए । 

    यसअघि प्रि–क्वाटरफाइनलमा पुलिसले सडन डेथमा आयोजक सहारा एकेडेमीलाई पराजित गर्दै मनाङसँगको भेट पक्का गरेको थियो । हारसँगै पुलिस प्रतियोगिताबाट बाहिरियो । 

    राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका कारण मनाङ र पुलिसका महत्वपूर्ण खेलाडीनै खेलमा सहभागी भएनन् । पुलिसका गोलरक्षक सत्रुधन चौधरीसहित तेज तामाङ र सुमन लामा प्रशिक्षणमा छन् भने मनाङका कप्तान अन्जन विष्ट, नीतिन थापा, पुजन उपरकोटी, दिनेश राजवंशी प्रशिक्षणमा रहेका छन् । 

    प्रतियोगिताका लागि मनाङले न्युरोड टिम एनआरटीका शिब गुरुङ र राजेश परियारलाई भित्राएको थियो । सोमबार संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार