Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खरबपति ठेकेदार खरेलको कार्यालयमा राजस्वको छापा, नक्कली कागजातका आधारमा अरबौं करछलीको आशंका


    आइतबार, पुष ४ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । राज्यका सबै निकायलाई प्रभावमा पार्नसक्ने समानान्तर निर्माण सेवाका संचालक अच्यूतप्रसाद खरेलको कार्यालयमा राजस्व अनुसन्धान विभागले छापा मारी कागजात नियन्त्रणमा लिएको छ । विभागले शुक्रबार पुरानो बानेश्वरस्थित खरेलको समानान्तर टावरबाट कागजात र कम्प्युटर नियन्त्रणमा लिएको छ । समानान्तरले नक्कली कागजातका आधारम अरबौं करछली गरेको आशंका विभागको छ । समानान्तरले आयकर छली गरेको आशंकामा छापा हानिएको विभागका अधिकारीले बताए ।  

    सेटिङमा ठेक्का, राज्यलाई अरबौं घाटा 

    केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रायः सबै सरकारी भवनका ठेक्का खरेलले सेटिङमा लिने क्रम सुरु भएको हो । समानान्तर निर्माण सेवाले सरकारी निकायका अधिकारीसँग सेटिङ गरी बोलपत्रमै आफ्नो कम्पनीसँग अनुकूल हुने स्पेसिफिकेसन राखेर ठेक्का लिने गरेको छ । समानान्तरले सेटिङमा ठेक्का लिएकामध्ये महान्यायाधीवक्ताको कार्यालय, गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भक्तपुर जिल्ला अदालत, सर्वोच्च अदालत, काठमाडौं महानगरपालिकाको टेकू कार्यालय लगायत हुन् ।  

    सर्वोच्च अदालतको सबा ५ अर्बको ठेक्का पनि सेटिङमै लिएको बिषय छताछुल्ल भइसकेको छ । प्रतिस्पर्धा नै नगराई खरेलकै सेटिङका कम्पनीहरुलाई टेण्डर हाल्न लगाएर समानान्तरले सर्वोच्चको टेण्डर लिएको आरोप छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेशर राणासँग सेटिङ गरी उनले सर्वोच्चको ठेक्का लिएका हुन् ।

    भक्तपुर जिल्ला अदालतको भवनमा ७० करोड कम दरमा बोलपत्र पेश गर्नेलाई नदिई खरिद ऐन नियम सबै मिचेर समानान्तरलाई ठेक्का दिइएको थियो । जसमा अख्तियारले छानबिन सुरु गरेपछि चोलेन्द्रशमशेर राणाले नै उक्त फाइल तानेर जोगाए ।

    सेटिङमा ठेक्का लिंदै प्रतिस्पर्धालाई सीमित गरी राज्यलाई अरबौं नोक्सान पार्ने काम समानान्तरले गरेका यी केही उदाहरण हुन्  । समानान्तरले करिब ६० अर्ब रुपैयाँको भवनका काम गरिरहेको छ । मन्त्रालय, विभाग र कार्यालयका प्रमुखसँग सेटिङ गरी ठेक्का लिंदैआएको समानान्तरले बनाएको गोदावरीको भवन निर्माण सकिएर हस्तान्तरण हुनासाथ चुहिएको थियो ।

    मेयर शाक्य र ज्ञवालीलाई उन्मुक्ति, आदेशपालक कर्मचारीलाई मुद्दा

    समानान्तरले सेटिङमै ठेक्का लिएको पाइएपछि काठमाडांंै महानगरपालिकाको टेकूस्थित भवन निर्माणको ठेक्का नै विवादमा परेको छ । महानगरपालिकाले टेकूको भवन निर्माणको ठेक्का समानान्तरलाई दिने क्रममा अनियमितता गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार निर्देशक भैरबबहादुर बोगटीसहित ५ जनाबिरुद्ध बुधबार मुद्दा दायर गरेको छ । यद्यपि ठेक्कामा सेटिङ गर्ने समानान्तरका संचालक अच्यूतप्रसाद खरेललाई प्रतिवादी नै नबनाई उन्मुक्ति दिइएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबमा प्रमुख आयुक्त राईले खरेललाई प्रतिवादी नबनाएको चर्चा काठमाडौं महानगरका कर्मचारीबीचमा हुने गरेको छ । काठमाडौं महानगरको टेकूपस्थित भवन निर्माणको ठेक्का ७२ करोडमा समानान्तरलाई दिइएको थियो । तर रविना कन्ष्ट्रक्सनले ५२ करोडमा निर्माण गर्नेगरी बोलपत्र पेश गरेकोमा आर्थिक प्रस्तावमा २० करोड बढी कबोल गर्ने समानान्तरलाई दिइएको छ ।

    २० करोड बढी कबोल गर्ने समानान्तरलाई ठेक्का दिने क्रममा मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले १० करोड घुस लिएको भए पनि अख्तियारले निर्देशक भैरबबहादुर बोगटीसहित ५ आदेशपालक कर्मचारीबिरुद्ध मुद्दा दर्ता गरी सानालाई ऐन ठूलालाई चैन भन्ने उक्ति चरितार्थ गरेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार