काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को रिक्त डीनमा प्राडा दिव्यासिंह शाह नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक रहेकी शाहलाई त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले डिन नियुक्त गरेको हो । सर्च कमिटीले सिफारिस गरेका तीन जनाको नाममध्येबाट परिषदले प्राडा. शाहलाई डीनमा नियुक्ति गरेको हो ।
२०७७ जेठ २२ मा प्रा.डा. जगदीश अग्रवाल डीनबाट अवकाश पाएपछि सो पद रिक्त थियो । २३ जेठमा त्रिवि कार्यकारीले प्राडा प्रेम ज्ञवालीको संयोजकत्वमा नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटी गठन गरेको थियो । सो कमिटिमा प्राडा जीवन शेरचन र प्राडा सुवास आचार्य सदस्य थिए ।
ज्ञवालीको कमिटीले प्रा.डा. प्रदीप बैद्य, प्रा.डा. शाह र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।