सुर्खेत । सुर्खेतमा आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमण देखिएको छ । झुण्डिएर मृत अवस्थामा भेटिएकी ती युवतीको सब पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा लाँदा कोरोना परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । सिम्ता गाउँपालिका–८ की २५ वर्षीय ती युवती असार १ मा घर नजिकै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेलापरेको थिइन् ।
युवती गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् । क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । त्यसपछि होम क्वारेन्टिनमा बस्ने गरी पठाइएको उनले बताए ।
यो कर्णालीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ पुगेको छ । युवतीको शव मेहलकुना अस्पतालमा नै राखिएको छ । उनको शव व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।