काठमाडौंं । कोरोना महामारीका बीचमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको ब्यवस्थापन महाशाखाले १ लाख ५० हजार पीसीआर किट खरिदमा ८ करोड बढी प्रस्ताव गरेको बोलपत्र स्वीकृत गरेका छन् । १६ करोड प्रस्ताव गरेको दोस्रो नम्बरको फेयर ट्रेडले १६ करोड ९९ लाखमा हालेको बोलपत्र स्वीकृत नगरी ११ औं नम्बरको बढी मूल्यको ओम सर्जिकलको टेण्डर स्वीकृत गरिएको छ । ओम सर्जिकलले २४ करोड ८१ लाख रुपैयाँमा बोलपत्र प्रस्ताव गरेको थियो ।
पहिलो नम्बरको हाम्रो बालाजी जेभीको बोलपत्रको सामान स्पेसिफिकेसन अनुसार नभएकाले अस्वीकृत गरियो । तर दोस्रोदेखि १० औं नम्बरलाई नदिई एकैपटक ११ औं नम्बरको बढी मूल्य प्रस्ताव गर्ने ओमलाई दिइएको छ ।
जनस्वास्थ्य प्रयोगशालाकी डा. रुना झाले २ देखि १० औं नम्बरका प्रस्तावहरुलाई प्राविधिक मूल्यांकनका नाममा फेल गराई ११ औं नम्बरको ओम सर्जिकलको बोलपत्र स्वीकृत गरेकी छन् । स्वास्थ्य सेवा विभागका अधिकारी र डा. रुना झाले भने स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा. खेम कार्कीको दबाबमा ओम सर्जिकललाई प्राविधिक मूल्यांकनमा पास गराइएको भन्दै आफू पानीमाथिको ओभानो बन्न खोजेका छन् । स्पेसिफिकेसन बनाउँदै ओम सर्जिकलको पीसीआर किट उत्पादक कम्पनीसँग मिल्नेगरी बनाई नीतिगत भ्रष्टाचार गरिएको छ ।
स्वास्थ्य सेवा विभागबाट ओम सर्जिकलले आफ्नो कम्पनीलाई मात्र ठेक्का पार्नका लागि बार्षिक २० करोडको कारोबार भएको हुनुपर्ने प्रावधान समेत राख्न लगाएको खुलेको छ । यसरी ओम सर्जिकलका संचालक रामशरण भण्डारीले कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा सेटिङ गर्दैआएका छन् । उनकै योजनामा स्पेकमा उनले सामान झिकाउने कम्पनीसँग मात्र मिल्ने स्पेक बनाइयो भने २० करोड कारोबार गरेको हुनुपर्ने बुँदा समेत राखिएको विभागका अधिकारी बताउँछन् ।
यसअघि ओम सर्जिकलले सर्जिकल मास्क लगायतका स्वास्थ्य सामग्रीको टेण्डर पाएको थियो । त्यो बेला स्वास्थ्य सामग्री अभाव भएकाले विभागलाई दिन ल्याएको सामान बाहिर बजारमा कालोबजारीमा बिक्री गरी रातारात करोडौं रुपैयाँ फाइदा गरे । र, विभागलाई १ महिना ढिलो गरी दिएका थिए । उनले ढिलो गरी सामान दिंदा पनि विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठ र ब्यवस्थापन महाशाखा प्रमुख डा. भोगेन्द्र डोटेलले कारबाही नगरेकोबारेमा समाचार सार्वजनिक भएको थियो । जबकि ओम्नीले समयमा सामान नदिंदा कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको थियो ।