काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ गोंगबु गणेशस्थानस्थित एक जुवाअखडामा छापा मारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र ४ महिला छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले जुवा अखडामा छापा मारिएको बताए । उनले पक्राउ परेकाहरुको नाम खुलाउन नमिल्ने प्रतिक्रिया दिएका छन् । जुवाखालाबाट २ लाख ७१ हजार रुपैयाँमात्र बरामद भएको जानकारी उनले दिएका छन् ।
उक्त जुवाअखाडाबाट पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगंजमा राखिएको छ । महाराजगंज बृत्तका डीएसपी रोशन खड्काले पनि जुवाडेहरुको नाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् । उक्त जुवा अखाडामा पक्राउ परेका महिला नेपाली सेनाका उच्चतहका हाकिमहरुका श्रीमती रहेको स्रोतको दाबी छ । प्रहरी स्रोतले भीआइपी महिलाहरु पनि पक्राउ परेको जानकारी नेपालफेसलाई दिएको छ । भीआइपी महिलाहरुसमेत पक्राउ परेको उक्त अखाडामा बरामद नगद भने कम देखाइएको छ ।