भक्तपुर, १ असार । भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार राति पौने ६ बजे अनियन्त्रित भई नालीमा खस्दा चालकको मृत्यु भएको हो।
आइतबार राति पौने ६ बजे भक्तपुर नगरपालिका १० कमलविनायकस्थित बा ९५ प १४५५ नम्बरको मोटरसाइकल नालीमा खस्दा सोही वडाका चालक १७ वर्षीय रञ्जित माहाजुको उपचारका क्रममा मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीका अनुसार उक्त मोटरसाइकल खरिपाटीबाट कमलविनायकतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खसेको हो।दुर्घटना हुँदा माहाजुको उपचारका लागि प्रहरीले भक्तपुर अस्पताल पुर्याएको थियो।
साथै, त्यहाँ प्राथमिक उपचारपछि थप उपचारको लागि सवा ६ बजे ट्रमा सेन्टर ‘रिफर’ गरिएको थियो। त्यहाँ करिब राति सवा १० बजे उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कमलविनायकले मोटरसाइकललाई नियन्त्रणमा राखेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।