काठमाडौं । प्रहरी प्रधान कार्यालयको आदेश समेत अटेर गर्ने एसपी दानबहादुर मल्ललाई कास्कीमा सरुवा गर्न दबाब दिएका कारण सरुवा अड्किन पुगेको छ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै मल्ललाई कास्कीमा सरुवा गर्न दबाब दिएका छन् । मल्ल ५ महिनाअघि मात्र चितवनबाट सरुवा भएका हुन् । कोही २० महिनासम्म इन्चार्ज पाउन सकेका छैनन् । कसैलाई भने चितवनजस्तो जिल्लाबाट सरुवा भएको ५ महिनामै पुनः इन्चार्ज दिंदा प्रहरीका एसपीहरुमाथि अन्याय हुने भएकाले आइजीपी ज्ञवाली उनलाई कास्की सरुवा नगर्ने अडानमा छन् । बरु आफ्नो कार्यकालमा सरुवा नै नगर्ने तर अन्याय हुन नदिने पक्षमा उनी छन् । एसपी मल्ल नेकपा अध्यक्ष प्रचण्डको बडीगार्डका रुपमा कार्यरत रहेकाले त्यही सम्बन्धका आधारमा प्रहरीमा सधैं आकर्षक जिल्ला पाउने भाग्यमानीभित्र पर्दछन् ।
नेपाल प्रहरीमा करिब १३ जिल्लाका एसपीहरुको सरुवा तयारी भइरहेको छ । ती १३ जिल्लाका एसपीहरुको १ बर्ष पुगिसकेको छ । इलाम, धनकुटा, मोरङ, सिरहा, महोत्तरी, तनहुँ, कास्की, पाल्पा, कपिलवस्तु, बाँके, सुर्खेत जस्ता जिल्लाको एसपीको एक बर्ष पुगिसकेको छ । सिरहाका एसपी उमाप्रसाद चतुर्वेदी सरुवा भएको १५ महिना पुगिसकेको छ । ४ महिनाअघि चितवन सरुवा भएका एसपी नान्तिराज गुरुङले कमाण्ड गर्न नसकेपछि उनी पनि तानिने भएका छन् । रुपन्देहीका एसपी हेम थापाको १० महिना पुग्न लागेको छ । इटहरी ट्राफिक र बुटवल ट्राफिकका एसपीको पनि १ बर्ष पुगिसकेको छ ।
कास्कीमा सरुवा हुन मनोज केसी, आभूषण तिम्सिना, जीवन श्रेष्ठहरु पनि लागेका छन् । बाँकेमा सरुवा हुनका लागि ओम राना जस्ता बदनाम एसपी लागेका छन् । उनी शक्तिकेन्द्रमार्फत् सरुवा हुने खेलमा लागेका हुन् । उनी यसअघि कास्कीको इन्चार्ज भइसकेका हुन् । रसुवामा हुँदा रक्तचन्दन तस्करी गर्नेदेखि सुन ओसारपसारमा उनी संलग्न रहेको पुष्टि हुँदा पनि कारबाही नगरी उन्मुक्ति पाएका राना बाँके जानका लागि शक्ति लगाउँदैआएका छन् । जबकि रसुवामा हुदा रक्तचन्दन तस्करीमा मुख्य हात भएका उनी जोगिए भने सेनाका कर्णेल रामजी थापामाथि कोर्टमार्सल नै भयो । तर उनलाई केही कारबाही भएन । उल्टै एकपछि अर्को इन्चार्ज भए ।
अख्तियारमा कार्यरत प्रवीण पोखरेल र अर्का एसपी सन्तोष खड्का मोरङ, कास्की वा रुपन्देही नै ताकेर बसेका छन् । सम्पत्ति शुद्धिकरण विभागमा हुँदा विवादमा परेका एसपी प्रकाश रानाभाट पनि कास्की, बाँके, मोरङ नै ताकेर बसेका छन् । उनी बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय हेटौंडाको प्रमुख हुन् । उनी पुनः जिल्लाको इन्चार्ज हुने खेलमा छन् ।
चितवनका एसपीलाई तान्न कसले रोक्यो ?
यसैबीच, चितवनका एसपी नान्तिराज गुरुङको कमाण्ड नै कमजोर भएकाले उनलाई पनि तानेर अर्को एसपी पठाउने तयारी भइरहेको थियो । तर आइतबार पूर्वगृहसचिव प्रेमकुमार राईले गृहसचिव महेश्वर न्यौपानेलाई फोन गरेपछि रोकिएको छ ।
एसपी गुरुङमाथि लागूऔषध कारोबारीसँग घुस लिएकोदेखि भरतपुर कोरोना अस्पतालको चोरी प्रकरण लुकाउन खोजेको सूचना प्रहरी प्रधान कार्यालयसम्मै पुगेपछि उनलाई तान्ने निश्चित भइसकेको थियो । तर राईको फोनले एसपी गुरुङको सरुवा तत्काल रोकिन पुगेको छ । उनीमाथि लकडाउन खुकुलो पारी घुस खाएर रेष्टुरेन्ट खोल्न दिएको आरोप पनि छ । लकडाउन खुकुलो पार्दा संक्रमण त चितवनमा बढ्यो नै चोरी कालोबजारी समेत बढ्न पुगेको थियो ।
एसपी गुरुङकै संरक्षणमा भरतपुर महानगरपालिका २९ स्थित त्रिशुली नदी र त्यस आसपासका खोलाबाट स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् ब्यापक भयो । फणिन्द्र भण्डारीको समूहले प्रहरी संरक्षणमा नै नदीजन्य पदार्थ स्काभेटर प्रयोग गरी निकालेको भिडियो नै सार्वजनिक भएको थियो । बागमती प्रदेशका डीआइजी बसन्त लामाले यसरी नदीमै स्काभेटर प्रयोग गरी बालुवा निकालेको भिडियो सार्वजनिक भएपछि कारबाही गर्ने प्रतिबद्धता जनाए । तर बालुवा कारोबारीले उनलाई समेत प्रभावमा पारेपछि उनी अहिले चुप छन् ।
चितवनका घुमुवा असई सीताराम खतिवडालाई प्रयोग गरी जुवा अखाडाबाट समेत घुस संकलन गरी संरक्षण गरेको घटना बाहिर आएपछि एसपी गुरुङलाई जोगाएर डीएसपी एकनारायण कोइरालालाई जुनियर प्रहरी तालिम केन्द्र भरतपुरमा सरुवा गरिएको छ । कमाण्डर एसपी गुरुङको सरक्षणमा लागूऔषध कारोबारीसँग घुस असुलीदेखि नदी दोहन भएको भए पनि डीएसपीलाई सरुवा गरी उनलाई यथावत राखिएको छ ।