काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाई अपहरण गर्ने मूख्य नाइके रोहित पालिवाल अग्रवाललाई कैलाली कारागारमा सारिएपछि कारागार मिनी क्यासिनोमा परिणत भयो । उनलाई विभागकै कारागार शाखाका अधिकृत सन्तोष लामिछानेले सेटिङ गरी धादिङबाट सरुवा गरेका थिए ।
कैलालीमा सरुवा गरिएपछि पालिवाल हर्ताकर्ता नै भए । कारागारभित्रै जुवातास खेल्ने, गाँजा र अन्य लागूऔषध खाने, सुरक्षाका लागि खटिएका प्रहरी प्रमुख र जेलरलाई पनि भित्रै मासुभातको व्यवस्था गर्ने काम गरिएको कुरा सार्वजनिक भयो । पालिवालले कैलाली कारागारलाई मिनीक्यासिनो बनाएको घटना सार्वजकि भएपछि कारागारभित्रै गैर कानूनी हर्कत गराउँदै आएका जेलर महेन्द्रबहादुर खड्कालाई डोटीमा सरुवा गरिएको थियो ।
जुवातास खेलेको र गाजा लगायतका लागूऔषध सेवन गरेको भिडिओ प्राप्त गरेपछि कारागार व्यवस्था विभागका तत्कालीन महानिर्देशक बासुदेव घिमिरेले कारबाहीका लागि कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरालाई अनुगमन गर्नू भने । प्रमुख जिल्ला अधिकारी बोहराले निरीक्षण गर्दा कैदीसँग ३९ थान मोबाइल भेटिएको थियो । स्रोतका अनुसार अहिले पनि कारागारभित्र जेलर र चौकिदारको मिलेमतोमा लागूऔषध भित्र्याउने काम रोकिएको छैन । छानविन गर्दा चप्पलमा सिलाएर ल्याएको लागूऔषध कारागारका चौकिदारले बरामद गरेका थिए । विकृतिका नाइके पालिवाल डडेल्धुरा सरुवा गरिए ।
कैलाली कारागारलाई मिनीक्यासिनो बनाउने पालिवाल शक्तिको आधारमा डडेल्धुरा सरुवा गरिए । उनलाई रसुवा, मनाङ वा मुस्ताङ कारागारमा सरुवा गर्नुपर्ने थियो । विभागमा कार्यरत कारागार शाखाका अधिकृत सन्तोष लामिछानेले उनलाई बचाउने र राम्रो शुभलाभ लिने गरेको कारागार स्रोतको दाबी छ । जसले गर्दा उनी नजिकैको कारगारमा रोजेर सरुवा गरिएका हुन् । देशभरका कारागारबाट मासिक उठाउने, चौकिदार र नाइकेहरुको चयन गर्ने गिरोहबाट मासिक झण्डै १० लाख रुपैया विभागमा पठाइने गरिएको स्रोतले बतायो । त्यसको सबै चाँजोपाँजो अधिकृत सन्तोष लामिछानेले नै गर्दैआएका छन् । त्यसैकारण केही दिनअघि चौकिदार नियुक्तिका विषयमा डिल्लीबजार खोरमा कैदीहरुबीच ग्याङफाइट नै भएको खबर सार्वजनिक भएको थियो ।
यो घटना बाहिर ल्याएको आशंकामा मेराज साई अहमदलाई बिराटनगर कारागार, नरेन्द्र लामालाई भीमफेदी कारगार सरुवा गरियो । त्यसैगरी रमेश बटाला, दिनेश जैसी, प्रेमध्वज जैसीलगायतलाई आन्तरिक कारबाही गरियो । त्यसअघि नै भिडियो बाहिर ल्याएको आशंकामा पालिवालकै दवावमा पुरण बटालालाई पनि सरुवा गरिएको थियो । तर, जुवातास खेलाएर मासिक १० लाख भन्दा बढी असुली गर्ने कैलाली कारागारका गगन ठकुल्ला, दिपेश गुप्ता, मदन झा, आशिस सेठी, उपेन्द्र जैसी, रामबहादुर खत्री, दयाराम चौधरी, किसन नेपाली, सुवास चन्द, बिमल चौधरी खड्क तामाङलगायतका कैदीहरु रोहित पालिवालकै दवावमा कैलाली कारागारमै रोकियो । उनीहरुमार्फत् अहिले पनि चौकिदार र नाइके नियुक्तमा पालिवालकै दवावमा काम हुने गरेको छ ।
अहिले विभागकै कर्मचारीको फोर्समा कमाउधन्दा सञ्चालन गर्न सक्ने पालिवाललाई पुनः कैलाली कारगार फर्काउन खोजिएको छ । उनको सम्बन्ध विभागका कर्मचारी सन्तोष लामिछानेसँग रहेको र चलखेल पनि गर्ने गरेको स्रोतको दाबी छ । लामिछानेले नै कारागार व्यवस्था विभागदेखि माथिल्लो तहसम्म रकम बाँडफाँडको व्यवस्था मिलाउने गरेको बुझिन आएको छ । रोहित अग्रवालसहितको समूहले चितवन कारागारमा रहँदा पनि डा. श्रेष्ठलाई कारागारकै फोन प्रयोग गरी पटक पटक धम्की दिँदै आएका थिए । त्यसपछि उनलाई रसुवा कारागार सरुवा गरियो ।
अग्रवालले डा.श्रेष्ठलाई २०६७ साल जेठ ४ गते अपहरण गरेका थिए । यसअघि नै सोही आरोपमा पक्राउ परेका नवीन क्षेत्री, बद्री ढुङ्गाना र सुनिल श्रेष्ठ पुर्पक्षका लागि भरतपुर कारागारमा थुनामा रहेका थिए ।
कसरी हुन्छ कारागारमा कमाई ?
कारगारभित्र कैदीहरुका लागि किनमेल गर्ने पसलको सामान अत्याधिक महंगो लिइन्छ । त्यहाँ एक खिल्ली चुरोटको एक सय रुपैयाँ लिने गरिएको छ । त्यसै गरी त्यहाँ सञ्चालन गरिएका टेलिफोन सेवामा पनि अत्याधिक महंगो लिने कारण दैनिक चार पाँच हजार रुपैयाँ आम्दानी पालिवाल जस्ताको नियन्त्रणमा हुन्छ । त्यसैगरी कतिपय लागूऔषध कारोबारमा परेकाहरुले घरबाट पैसा मगाएर अत्याधिक महंगो मोलमा जेलभित्रै सेवन गर्ने गरेको स्रोतको दाबी छ । कारागार भनेको सुधारगृह हो भन्ठानेका अभिभावकहरु आफूले पठाएको पैसाले जेलभित्रै लागूऔषध खाएको विश्वास गर्दैनन् । लागूऔषध, गाँजा, खैरो हिरोइन, चरेससमेत भित्र्याएर महंगो मोलमा बेच्ने गरिन्छ । बिरोध गर्नेहरुलाई उनीहरुले सरुवा गर्ने वा जेलभित्रै कारबाही गर्ने गर्दछन् । लागूऔषध, अपहरण, जबर्जस्ती करणी, ज्यानकेसमा परेका अधिकांश कैदीहरु चौकिदार बनेर मासिक दशौं लाख अबैध आम्दानी गरिरहेका हुन्छन् । त्यसो त कारागार अवधि मिनाहाका लागि पनि चलखेल हुने गरेको छ ।
जुवा खेलाउने जेलर खड्काको कारबाही फिर्ता ?
डडेल्धुरामा बसेर आइफोन सुबिधा, अलग्गै बेड र बाहिरको प्याकिङ खानाको व्यवस्था गरी बसेका रोहित पालिवालको दवाव र प्रभावमा कैलाली कारगारमा अहिले पनि उस्तै छ । कैलालीमा रहँदा मिनीक्यासिनो सञ्चालन गर्दै आएका रोहित पालिवाल अग्रवालले कैलालीका तत्कालीन जेलर महेन्द्रबहादुर खड्कालाई पुनः त्यहीँ सरुवा गराएका छन् । खड्का अहिले पनि कार्यालय समयमै अल्कोहल सेवन गरेर बस्ने गरेका छन् । तर, कारबाही गरिएको छैन । त्यसो त कैलालीका सीडीओ यज्ञराज बोहोराले तुरुन्तै छानविन समिति बनाएर बिभिन्न दवावका बावजुद उनलाई डोटीमा सरुवा नै गरिदिएका थिए । तत्कालीन जेलर खड्काको सरुवा कारबाही फिर्ता गराउन पनि उनै रोहितले कारागार व्यवस्था विभागका अधिकृत सन्तोष लामिछाने मार्फत् गृह मन्त्रालयमा साँठगाँठ मिलाएको स्रोतको दाबी छ ।
रोहित पालिवाल अग्रवाल नेपाली कि भारतीय ?
चर्चित अपहरणकाण्डका नाइके रोहित पालिवाल अग्रवालको वानेश्वरमा बिशाल महल रहेको बुझिन आएको छ । उनीसँग भारतीय र नेपाली दुबै नागरिकता भए पनि सुक्ष्म रुपले छानविन नभएको स्रोतको दाबी छ । त्यसो त गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले माओवादी पार्टीको नेतृत्व गर्दै अपहरित बीपी कोइराला क्यान्सर अस्पतालका प्रमुख डा. भक्तमान श्रेष्ठलाई छुटाउन झण्डै पाँच किलो सुन गोरखपुर लगेर बुझाएको चर्चा पनि थियो ।
पाँच किलो सुन फिरौतीबापत बुझेपछि अग्रवालको समूहले धादिङबाट १९ दिनपछि अपहरित डा. श्रेष्ठलाई छाडेको थियो । अहिले कैलाली कारागारभित्र भारतीय कैदीहरुको बोलवाल पनि पालिवालकै कारण चल्दै आएको छ र साथै पुनः लागूऔषधको कारोबार पनि बढ्न थालेको स्रोतको दाबी छ । अभिभावकहरु छोराछोरी सुध्रिने आशा गरेर कारागारमा बस्न र खानका लागि भन्दै रकम पठाउने गरे पनि उक्त रकमबाट लागूऔषध खरिद गरेर खान्छन् भन्ने कुराको हेक्काचाहिँ नपाउने गरेको एक कैदीले बताए । अहिले सुधारगृहका रुपमा चर्चा गरिने कारागार रोहितजस्ताको कमाउधन्दाका कारण बद्नाम बन्न पुगेको छ । साँघु साप्ताहिकबाट
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend