काठमाडौं, ३० जेठ । सर्लाहीको सीमा क्षेत्रमा भारतीय पक्षले सशस्त्र प्रहरी बलको पोष्टमाथि आक्रमण गरेको छ । नेपाल भारत सीमा क्षेत्र सर्लाहीमा भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड भएकाे छ। झपडमा परी एक जनाको मृत्यु भएको भने ६ जना घाइते भएका छन्। झपडमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीन जना गरी ६ जना घाइते भएका छन् ।
भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हाे ।सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय पक्षका ती जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत रुपमा नेपाल छिर्ने खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको बताए ।
‘अनाधिकृत रुपमा प्रवेश गर्नेलाई सुरक्षाकर्मीले रोक्ने नै भए, त्यस क्रममा सुरक्षाकर्मीलाई हातपात गरेर हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको हो’ प्रमुख जिल्ला अधिकारी जिसीले भने ।
प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।
यसअघि झापा बारा लगायतका विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा भारतीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।