काठमाडौं, ३० जेठ। कृषि विकास बैङकका एक कर्मचारीले पहिलो पटक कोरोना बिमाको पहिलो दाबी भुक्तानी पाएका छन् । कोरोना बिमा गराएका उनले कोरोनाको संक्रमण पुष्टि भएपछि बिमा बापतको एक लाख रुपैयाँ भुक्तानी गरिएको हो ।
आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम अन्तर्गत् पहिलो पटक संक्रमितलाई दाबी भुक्तानी गरिएको हो ।
नेको इन्स्योरेन्सले शुक्रबार कृषि विकास बैङ्कको खातामा सो दाबी रकम भुक्तानी गरिदिएको हो । बिमा समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो ।
परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्ने र बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको थियो ।
बिमा गरेका जो कोहीलाई पनि १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बिमा दाबी भुक्तानी हुने बताइएको छ ।