काठमाडौं, २८ जेठ । एमबीबीस अध्ययन गरेको डाक्टर नै चोरीको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले पाटन अस्पतालको आइसियूबाट अल्ट्रासाउन्ड मेसिनका पार्टपूर्जा चोरी गरेको आरोपमा डाक्टर प्रवीण मिश्र र अहेव रमेशकुमार शर्मालाई पक्राउ गरेको छ । डाक्टर भइसकेका मिश्र चोरी गर्दागर्र्दै पक्राउ परेपछि मानिस पैसाका लागि कति हदसम्म गिर्नसक्छ भन्ने पुष्टी भएको छ । पाटन अस्पताल जस्तो सुविधा सम्पन्न अस्पतालमा सीसीटीभी हुनसक्छ भन्ने ख्याल नगरी चोरी गर्ने डा.मिश्र पक्राउ परेका छन् ।
पक्राउ परेका डाक्टर र अहेब शर्मा डी एण्ड बी मेडिकेयर अस्पताल बर्दिबासमा कार्यरत रहेको खुलेको छ । कम्पनीबाट मेसिन मर्मत गर्न आएको भन्दै आइसियूमा छिरेर उनीहरूले चोरी गरेको प्रहरीको भनाइ छ ।
करिब २१ लाख रुपैयाँ पर्ने सो पोर्टेबल अल्ट्रासाउन्ड मेसिनका पार्टपूर्जा उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार गत १७ जेठमा मेसिन चोरी भएपछि अस्पतालले उजुरी गरेको थियो ।
प्रहरीले चोरी गरिएको मेसिन बरामद गरी उनीहरूलाई चोरी मुद्दामा कारबाही अघि बढाएको छ ।