Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चौरजहारी घटनाको अनुसन्धान गर्न ९ सदस्यीय संसदीय समिति गठन


    सोमबार, जेष्ठ २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २६ जेठ । ६ जना युवाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ ।

    सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा आज ९ सदस्यीय छानबिन समिति गठन भएको हो ।

    समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।

    सांसदहरूले छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेपछि सभामुख अग्नि साप्कोटाले दलहरूसँग छलफल गरेर समिति बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।समितिलाई उक्त घटना छानबिनका लागि ३० दिनको समय दिइएको छ ।

    १० जेठमा सोतीस्थित मल्ल थरकी प्रेमिकालाई बिहे गरेर लैजान जाजरकोटबाट गएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

    आक्रमणमा परेर भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप सञ्जु विक, लोकेन्द्र सुनार र गोविन्द शाही, चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको थियो ।

    उनीहरू सबैको शव भेरी नदीआसपास भेटिएको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार